site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
किमाथांका अर्धजलाशय आयोजनाको विद्युत् जडान सम्झौता, पीपीए गर्न बाटो खुल्यो

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच ४५४ मेगावटको किमाथांका अर्धजलाशय आयोजनाको विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ ।

उत्पादन कम्पनी र प्राधिकरणबीच सोमबार विद्युत् जडान सम्झौता भएको हो । विद्युत् जडान सम्झौताबाट आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्न बाटो खुला भएको विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले बताए ।

आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत् प्राधिकरणको चार सय केभी हाइटार सबस्टेसनमा जोडिने उनले जानकारी दिए । पीपीएसँगै आयोजना बनाउन लगानी जुटाउने काम अघि बढ्ने उनले बताए । लगानी जुटाउने विषयमा छलफल भइरहेको उनले सुनाए । छलफलपछि लगानीको खाका तयार पार्ने सीईओ शाहीले बताएका छन् । आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्र्तगत पर्छ ।

अध्ययनअनुसार आयोजना वित्तीय रूपमा आकर्षक देखिएको छ । आयोजनाको अनुमानित लागत ९३ अर्ब ८० करोड रुपैयाँ रहेको उत्पादन कम्पनीले जानकारी दिएको छ । यो आयोजना संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमानजिक पर्छ ।

आयोजनाको परामर्शदाता विद्युत् प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ ।

बिजुलीको अधिकतम माग हुने समयमा आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ ।

बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ । भोटखोला गाउँपालिका वडा नम्बर २ मा ५०० मिटर तल  विद्युतगृह बन्ने भएको छ । आयोजनामा आठ मिटर व्यास भएको ५१ सय ९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ ।

आयोजनामा पानीको बहाव १४३ घनमिटर प्रतिसेकेन्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक दुई अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको जानकारी कम्पनीले दिएको छ ।

सुक्खायाममा आयोजनाबाट एक अर्ब पाँच करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ । यस्तै, बर्खामा एक अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ । यस्तै, सुरुङबाट ल्याइएको पानीलाई चारवटा टर्बाइनमा खसाली विद्युत् उत्पादन गरिने भएको छ । बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ । आयोजनाको अधिकांश संरचना मकालु र वरुण राष्ट्रिय निकुञ्जमा बन्ने कम्पनीले जनाएको छ  । नेपाल र चीन सीमामा पर्ने यो आयोजना पनि अरुण तेस्रो र तल्लो अरुण बनाइरहेको भारतको सतलज जलविद्युत् निगम लिमिटेडले मागिरहेको छ ।

यसैगरी उत्पादन कम्पनीले गत पुसमा किमाथांका साथै १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक निजी साझेदारी (पिपिपी) खाकामा बनाउ प्रस्ताव मागेको थियो । प्रस्ताव विवादित भएपछि कम्पनीले रद्द गरेको थियो ।

दुई आयोजना बनाउन पाँच खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । त्यसबेला स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी हुने गरी प्रस्ताव आह्वान गरिएको थियो ।

आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ः७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ । किमाथांका जलविद्युत्का लागि न्यूनतम कबोल रकम ९० करोड ८१ लाख ९ हजार ३०२ रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्