नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका रूपमा डा. विश्वनाथ पौडेलको नियुक्तिले कुनै राजनीतिक दलको कार्यकर्ता बनेर त्यसको नेतृत्व वा तिनको परिवारका सदस्यको चाकरी गरेर पनि मुलुकको केन्द्रीय बैंकको गभर्नरजस्तो पद हत्याउन सकिन्छ भन्ने तथ्य स्थापित भएको छ । राष्ट्र बैंकको गभर्नरजस्तो पदमा मौद्रिक नीतिको ज्ञाता, नेपालको केन्द्रीय बैंकलाई राम्रोसँग बुझेको, वाणिज्य बैंकहरूका समस्या थाहा भएको र विदेशी मुद्रा व्यवस्थापनको ज्ञान भएको व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सरकारमा रहेका दुई ठूला दलको नेताको कपटखेलमा नेपाली कांग्रेसको एकजना कनिष्ठ सदस्यलाई यो जिम्मेवारी सुम्पेर सरकारले देशको अर्थतन्त्र र मौद्रिक व्यवस्थापनप्रति गम्भीर हेलचेक्य्राइँ गरेको छ ।
डा. विश्वनाथ पौडेलको अर्थशास्त्रको ज्ञानमा प्रश्न छैन । उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । तर, अर्थशास्त्र आफैँमा एउटा विस्तृत एवम् गहन विषय हो । यसैले अर्थशास्त्र पढेका सबै विद्यार्थीले मौद्रिक नीति बुझेका हुँदैनन् । डा. पौडेलले बर्कलेबाट कृषि र स्रोतको व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् । उनको ज्ञानअनुरूप त्यसबेला नेपाली कांग्रेसको सरकारले राष्ट्रिय योजना आयोगमा सल्लाहकार बनाएको थियो ।
सल्लाहकारको पदबाट बाहिरिनेबित्तिकै युलेन्स स्कुलको बोर्ड अफ डाइरेक्टरको पद उपहार पाएका डा. पौडेललाई नेपाली कांग्रेसको सरकारले योजना आयोगको उपाध्यक्ष पनि बनायो । उनको यो बढोत्तरीमा नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका डा. स्वर्णिम वाग्लेको ठूलो 'योगदान' रह्यो । वाग्लेको बहिर्गमन पौडेलका लागि समय र क्षमताभन्दा धेरै अघि बढ्ने अवसर बन्यो ।
कुनै पनि व्यक्तिको विगतभन्दा पदमा पुगेपछि के गर्छन् भन्ने विषयको बढी महत्त्व हुन्छ । नेपालका धेरै अर्थमन्त्रीहरूले अर्थशास्त्र पढेका र बुझेका छैनन् र पनि केहीले राम्रै काम गरेर देखाएका उदाहरण छन् । डा. पौडेलले कसैको गोटीमात्र नबन्ने बरु देशको हितका लागि आफूलाई समर्पण गर्ने अठोट गरे भने उनको सफलताको संभावनालाई अहिल्यै नकार्न पनि मिल्दैन । किनभने एकपल्ट नियुक्त भएपछि कानुनतः नेपाल राष्ट्र बैंकको गभर्नरले कसैको लगाम स्वीकारेर बस्नु पर्दैन । तर, चितवनबाट सांसद पदमा प्रतिस्पर्धा गरेर उत्कट राजनीतिक महत्त्वाकांक्षा प्रकट गरिसकेका डा. पौडेलबाट धेरै ठूलो त्याग र विद्रोहको आशा गर्न पनि सकिँदैन । गभर्नर छनोट समितिमा बसेका पौडेल सम्भावना देखिनेबित्तिकै आफैँ अगाडि सरेर स्वभाव देखाइसकेका छन् ।
अबको पाँच वर्ष पौडेलका लागि नेपाल राष्ट्र बैंकमा धेरै चुनौती छन् । विगतमा गभर्नरहरूले अत्यन्त अनुदारवादी आर्थिक सोच बोकेर देशको अर्थतन्त्रलाई आर्थिक मन्दीको अवस्थामा पुर्याउन प्रमुख भूमिका खेलेका छन् । देशका वाणिज्य बैंकहरूले स्वतन्त्ररुपमा व्यवसाय गर्न पाएका छैनन् । लगानीकर्ताहरूमा आत्मविश्वासको कमी छ । उपभोक्ताहरूको उपभोग क्षमता र इच्छामा ह्रास आएको छ । देशमा राजनीतिक पहुँच भएकाले मात्र लगानी, व्यवसाय र उद्यम गर्न सक्छन् भन्ने सोच आर्थिक क्षेत्रमा व्याप्त छ । यस्ता जड समस्याहरूको समाधान खोज्न सहज छैन ।
विशेषगरी राष्ट्र बैंकले गर्ने निर्णयहरू गभर्नरको जानकारी बेगर पत्नी, साला र दलका प्रमुख नेता निकटका दलालहरूले बाहिरै सेटिङ गर्ने र राष्ट्र बैंकमा ती निर्णयहरू औपचारिकताका लागि मात्रै आउने अवस्था देखिन्छ । त्यसैले बाह्रखरीले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पद 'बोकाको मुखमा कुभिण्डो' जस्तै भन्ने विचार प्रकट गरेको हो । नयाँ गभर्नरले हामीलाई गलत साबित गरुन्, यही शुभकामना !