site stats
बाह्रखरी :: Baahrakhari
कला
‘भूठान’ हेरेपछि कसले के भने ? 

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार भएको प्रिमियरमा राजनीतिक दलका नेता, कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो ।  

चलचित्र हेरेपछि एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो माटो र पहिचान गुमाउनुको पीडा ‘भूठान’ले समेटेको बताए । “निर्देशकले यति सुन्दर ढंगले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छ,” उनले भने, “कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने कुराले हृदय हल्लाउँछ ।” 

विषयवस्तु अनुसारको अभिनयलगायतले चलचित्र उत्कृष्ट बनेको बताउँदै उनले सिनेमा हेर्न आग्रह समेत गरे । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘भूठान’ले धेरैको कथा बोल्ने बताए । “भुटानी नागरिकले जसरी देश गुमाउनुपर्‍यो, यस्तै अरु कयौँले व्यहोर्नु परेको छ,” उनले भने, “भर्खरै पनि भुटानबाट नेपाल आएर नेपालबाट शरणार्थी जीवन बिताएर अमेरिका गएर बसेका मान्छेलाई अमेरिकाले डिर्पोट गरेको छ । यस्तै कुरा सिनेमामार्फत् जीवन्त बनाउने प्रयास भएको छ ।” 

सिनेमाको कथाले ह्रदय छोएको उनले बताए । उनले भुटानीले छुटाउनै नहुने सिनेमा बनेको बताए । 

निर्देशक मीनबहादुर भामले सिनेमाको विषयसँगै निर्देशक र कलाकारको काम मन परेको बताए । मर्मस्पर्शी कथा र प्राविधिक पक्ष बलियो हुँदा सिनेमा राम्रो बनेको उनको भनाइ छ । 

गायिका आनी छोइङ डोल्माले चलचित्र राम्रो बनेको तर यो स्वाद नेपाली दर्शकले लिन्छन् कि लिँदैनन् भन्नेमा शंका लागेको बताइन् । 

“चलचित्रमा यति धेरै कुरा छन्, हाम्रो नेपाली जनमानसले यो चलचित्रको स्वाद लिन सक्ला कि नसक्ला भन्ने मेरो चिन्ता छ,” उनले भनिन्, “यसको स्वाद लिन जान्यो भने यो चलचित्रले धेरै कुराहरू प्रस्तुत गरेको छ । हेर्ने मान्छेको आफ्नोआफ्नो दृष्टिकोण हुन्छ ।”

अभिनेत्री मनिषा कोइरालाले चलचित्र आफूलाई मन परेको बताइन् । विषय र प्राविधिकरूपमा पनि चलचित्र राम्रो बनेको बताइन् । 

“सिनेमा भनेको कथा भन्नु हो । निर्देशकले मिठो ढंगले कथा भन्नुभएको छ । पीडा देखाउनु भएको छ,” उनले भनिन्, “सिनेमेटोग्राफी, स्टोरीलाइन, डाइलग पनि पोएट्री जस्तो छ ।” 

क्रिकेटर रोहितकुमार पौडेल र सोमपाल कामीले भावुकता झल्काउने ‘भूठान’ मन परेको बताए । सिनेमाले दर्शकको मन जित्ने उनीहरूको विश्वास छ । 

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफूलाई चलचित्र ‘भूठान’ मन परेको बताए । “कति चलचित्र चाहिँ रमाइलो हुन्छन्, कति हेर्दा आनन्द आउँछ । पछिल्लो समय साम्बाला हेर्दा यस्तै भएको थियो,” उनले भने, “आज भूठान हेरिरहँदा एउटा क्रिएटरले कसरी आफूलाई लागेको कुरा हतार नगरी भन्छ भन्ने लाग्यो ।”

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमाको क्लाइमेक्स आफूलाई झन धेरै मन परेको बताइन् । हतार नगरी बनाइएको सिनेमा भन्दै उनले भनिन्, “उहाँले अडियन्सलाई सबै कुरा छोडिदिनुहुन्छ । आफ्नो अडियन्सलाई जसरी बुझ्न मन लाग्छ बुझ भन्ने उहाँको शैली हो । भूठानमा पनि क्लाइमेक्स गज्जव राम्रो लाग्यो ।” 

कलाकार मदनकृष्ण श्रेष्ठले ‘भूठान’मार्फत हरिवंश आचार्यको फरक अवतार हेर्न पाएको बताए । “अहिलेसम्म हेरेका चलचित्रमध्ये यो बेग्लै खालको फिल्म बनेको छ । कुनै फर्मुला पनि छैन,” उनले भने, “आफ्नो जन्मघरलाई, जन्म दिने देशलाई महत्व दिने कुरा बताएको छ, त्यही कुरा मलाई मनपर्‍यो ।”

हरिवंशको अभिनय गज्जब राम्रो रहेको उनले बताए । “हामीबाट दर्शकले हाँसो खोज्दथे । तर यसमा हाँसो केही पनि छैन । हँसाइराखेको मान्छेले सुरुदेखि नै गम्भीरता प्रस्तुत गरेको राम्रो छ,” उनले भने । 

शुक्रबारबाट रिलिज हुने चलचित्र ‘भूठान’लाई विनोद पौडेलले निर्देशन गरेका छन् । ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । 

‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्