
काठमाडौं । काठमाडौंमा एक महिनादेखि सवारी आवागमन अस्तव्यस्त बनेको छ । विभिन्न नाममा भइरहेका आन्दोलनले काठमाडौं उपत्यकामा सवारी जाम अत्यधित बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले विभिन्न आन्दोलनका नाममा सडक प्रयोग हुँदा सवारी आवागमन भद्रगोल बनेको बताए ।
“पछिल्लो समय सडकमा अत्यधिक जाम बढेको छ । यसले आम सर्वसाधारण मारमा परेका छन् । कहिले सहकारीपीडितको आन्दोलन, कहिले राप्रपा त कहिले शिक्षकको आन्दोलन भइरहेको । जसको प्रत्यक्ष मारमा सर्वसाधारण परे,” एसपी गिरीले भने ।
आफ्नो अधिकार माग्दा अरूको अधिकार खोसिनेप्रति ध्यान दिनुपर्ने गिरी बताउँछन् । “यस्ता आन्दोलनमा आफ्नो अधिकार माग्दै गर्दा अरूको अधिकार खोसिएकोप्रति ध्यान जाँदैन । आन्दोलनका नाममा सडक प्रयोगकर्ताको अधिकार खोसिएको छ । यसरी सडक बन्द गर्न नहुने हो,” उनले भने ।
पछिल्लो समय राजावादी आन्दोलन, राप्रपाको पदर्शन, सहकारीपीडित र शिक्षक आन्दोलनका कारण सवारी आवागमनमा निकै समस्या भइरहेको छ ।