site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक आन्दोलनको मारमा यातायात व्यवसायी, भन्छन्– अब हामी पनि सडकमा आउँछौँ

काठमाडौं । शिक्षक आन्दोलनले माइतीघर–बानेश्वर सडक दिनहुँ अवरुद्ध हुन थालेपछि यातायात व्यवसायीले प्रतिकार गर्ने तयारी गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलनका नाममा दिनहुँ सडक बन्द गराएपछि अब आफूहरू पनि प्रदर्शनको तयारीमा जुटेको बताए ।

“शिक्षक आन्दोलनका नाममा सडक बन्द गर्न पाइँदैन । शिक्षकहरूको माग के हो ? सरकारले पूरा गर्नुपर्‍यो । यसका नाममा आमसडक प्रयोगकर्ताको अधिकार खोसिनुभएन । यसरी सडक अवरुद्ध हुनुभएन,” उनले बाह्रखरीसित भने । 

देशभरका शिक्षक गएको चैत २० गतेदेखि दैनिकरूपमा माइतीघर–बानेश्वर क्षेत्रकेन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै कारण काठमाडौंको ट्राफिक व्यवस्थापन दैनिक अस्तव्यस्त बनेको छ ।

महासंघका अनुसार, निरन्तरको सडक अवरोधबाट बैंक किस्ता, कर तथा राजस्व, बिमा, कर्मचारी, मजदुरको व्यवस्थापन समस्या देखिरहेको छ ।

गत बिहीबार महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)मार्फत गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । तर, अहिलेसम्म कुनै जवाफ नपाएको महासंघका महासचिव नेपाल बताउँछन् ।

“अहिलेसम्म गृहमन्त्रीको जवाफ आएको छैन । पटकपटक हुने सडक आन्दोलनविरुद्ध उत्रिन यातायात मजदुरहरूको बैठक पनि बस्दै छौँ । सडक सुचारु नभए सबै यातायात मजदुर सडकमा आउछौँ,” नेपालले भने । 

सडकमा हुने बन्द, हडताल, भेला, सभा, जुलुस, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोधजस्ता कार्यले सबै क्षेत्र तथा सर्वसाधारणमा नकारात्मक असर परेकाले तत्काल यस्ता गतिविधि रोक्नुपर्ने माग महासंघको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्