site stats
बाह्रखरी :: Baahrakhari
कला
जनआन्दोलनको स्मरणसहित ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान 

काठमाडौं । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै  ‘स्रष्टा चैत्र ३०’ अभियानले यस वर्षको सम्मान साहित्यकारद्वय प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बालाई प्रदान गरेको छ । उनीहरूले सिर्जना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत गर्न निर्वाह गरेको रचनात्मक भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो । 

शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. तुलसीप्रसाद भट्टराईले सम्मान प्रदान गरे । डा. भट्टराईले निरंकुशताले क्रमशः टाउको उठाउँदै जान खोजेको अवस्थामा स्रष्टाका आन्दोलनलाई सम्झनु स्रष्टाको योगदान र जिम्मेदारीलाई बोध भएको बताए । स्रष्टाहरूको यस्तै भूमिकाले गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यसको रक्षाका लागि पनि बल पुग्ने उनले बताए । उनले स्रष्टाहरू सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने उनले बताए । 

कार्यक्रमका साहित्यकार सुलोचना मानन्धरले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टा आन्दोलनको चर्चा गर्दै स्रष्टा आन्दोलनमा गरेको योगदानलाई दिने सम्मान स्रष्टाको मात्र सम्मान नभएर इतिहासको पनि सम्मान भएको बताइन् । उनले सम्मानित स्रष्टा विजय सुब्बाले सिर्जनात्मक लेखनका साथै भूमिगत हुने जोखिम समेत उठाएर पनि स्रष्टा आन्दोलनमा भूमिका खेलेको बताइन् । 

साहित्यकार सन्ध्या पहाडीले सम्मानित प्रतिभा ज्ञानु पाण्डेको समालोचना रचनाधर्मितामाथि प्रकाश पार्दै उनले रचनामा लेखन स्वतन्त्रताको वकालत गरेको बताइन् । यसरी नै साहित्यकार डा. रत्नमणि नेपालले स्रष्टा आन्दोलनको इतिहासमाथि प्रकाश पार्दै राणाकालमा पनि लाइब्रेरी पर्व र मकैको खेती पुस्तक पर्व भएको स्मरण गर्दै स्रष्टा आन्दोलनको बहस त्यहाँदेखि सुरु गर्नुपर्ने बताए । 

कार्यक्रमका अतिथि डा. सुवास घिमिरेले स्रष्टाहरूको आन्दोलनले  समाजले अग्रगमनको बाटो लिने र  स्रष्टाहरूले सधैँ सकारात्मक र स्वतन्त्रताको पक्षमा काम गर्ने बताए । 

स्रष्टा, चैत्र ३० का अभियानका अध्यक्ष मनोज न्यौपानेले  स्रष्टा आन्दोलनलाई निरन्तरता दिनु संस्थाको उद्देश्य रहेको र आन्दोलनको मर्म र भावनालाई रजनीतिक नेताहरूले आत्मसात् गर्नुपर्नेमा जोड दिए । माया उपाध्यायले सहजीकरण गरेको कार्यक्रममा संस्थाका सचिव श्रीबाबु कार्कीले अतिथिहरूलाई स्वागत गरेका थिए । 

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा. तुल्सीप्रसाद भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा,  कृष्णभूषण बल, डा. सञ्जीव उप्रेती,  राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा. दुवसु क्षेत्री, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी, विवश पोखरेल, श्यामल अधिकारी, तीर्थ श्रेष्ठ, ज्ञानुवाकर पौडेल र लक्ष्मी माली सम्मानित भइसकेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्