site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अमेरिकाको १० प्रतिशत भन्सार शुल्कले व्यवसायीमा अन्योल, विज्ञ भन्छन्– ठूलो असर पर्दैन 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो शनिबारदेखि विभिन्न देशबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले मुलुकअनुसार न्यूनतम १० देखि ५० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा गरेका छन् । 

उनको घोषणाअनुसार नेपाललाई पनि १० प्रतिशत भन्सार शुल्क लागेको छ । ट्रम्पले नेपाललाई मात्र होइन, विश्वका सबै व्यापार साझेदार मुलुकलाई एकपक्षीय भन्सारदर घोषणा गरेर व्यापार युद्ध निम्त्याएका छन् । 

ट्रम्प प्रशासनले लगाएको नयाँ भन्सार दरका कारण नेपाली निर्यातकर्ता अन्योलमा छन् । नयाँ भन्सारदरले निर्यात व्यापारमा ठूलो असर पर्ने चिन्ता व्यवसायीमा देखिएको छ । अमेरिकाले नयाँ भन्सारदर सार्वजनिक गरेसँगै अहिले लाग्दै आएको भन्सारदरमा थप १० प्रतिशत लाग्ने हो वा नेपालबाट निर्यात हुने वस्तुमा न्यूनतम १० प्रतिशत भन्सार लाग्ने हो भन्नेमा अन्योल छ । 

नेपाल–अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष किरण प्रकाश शाखले नेपालस्थित अमेरिकन राजदूतावासमा यो विषयलाई स्पष्ट पार्न पत्र पठाइएको बताए । “हामीले पनि स्पष्ट बुझेका छैनौँ, अहिले लाग्दै आएको भन्सार दरमा थप १० प्रतिशत हो कि १० प्रतिशत बेस लाइन (आधार रेखा) हो बुझिएको छैन,” शाखले बाह्रखरीसँग भने, “मैले अमेरिकी दूतावासमा पत्र पठाएको छु । त्यसको जवाफ आएपछि मात्र स्पष्ट हुन्छ । नेपालबाट आयात हुने वस्तुमा अमेरिकाले न्यूनतम बेस लाइन १० प्रतिशत लगाएको हो कि भन्ने लागेको छ ।”

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म नेपाल र अमेरिकाबीच दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ । नेपालबाट वार्षिक १७ अर्ब रुपैयाँभन्दा बढीको सामग्री नेपालबाट अमेरिका निर्यात हुँदै आएको छ । सोही अवधिमा अमेरिकाबाट साढे १९ अर्ब रुपैयाँको वस्तु नेपालमा आयात भएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा निर्यात घटेको छ । यस अवधिमा १७ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ११ अर्ब ३७ करोड लाख रुपैयाँको निर्यात भएको विभागले जनाएको छ । आठ महिनामा अमेरिका–नेपाल व्यापार घाटा फराकिलो बनेर पाँच अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।  

नेपालबाट सबैभन्दा बढी ऊन तथा जनावरको रौँबाट बनाइएका गलैँचा र कपडा, घरपालुवा जनावरको खाना, फेल्ट उत्पादन र तयारी पोसाक अमेरिका निर्यात हुँदै आएको छ । 

नेपालसँग अमेरिकाको व्यापारको अंश सानो भएकाले १० प्रतिशत भन्सारले फरक नपार्ने व्यापार विज्ञ तथा पूर्वसचिव पुरुषोतम ओझा बताउँछन् । अमेरिकाले १० प्रतिशत भन्सार लगाउँदैमा नेपाललाई कुनै फरक नपर्ने उनको बुझाइ छ ।

“अमेरिकासँग ठूलो व्यापार हिस्सा भएका मुलुकहरू क्यानडा, चीन, भारत, दक्षिण कोरिया, श्रीलंकालगायत मुलुकमा बढी भन्सारदर लगाइएको छ,” उनले भने, “नेपालबाट निर्यात हुनेभन्दा आयात हुने वस्तु बढी छन्, अमेरिकासँग नेपालको व्यापार घाटा बढी छ । १० प्रतिशत भन्सार थप त अधिकांश मुलुकलाई गरिएको छ ।” 

अमेरिकाले चीनबाट आयात हुने वस्तुमा थप ३४ प्रतिशत भन्सार लगाएको छ । यसअघि ६७ प्रतिशत थियो । त्यस्तै, भारतबाट आयात हुने वस्तुमा थप २६ प्रतिशत, जापानबाट आयात हुने वस्तुमा थप २४ प्रतिशत र श्रीलंकाबाट आयात हुने वस्तुमा थप ४४ प्रतिशत भन्सार लगाइएको छ ।

यसअघि भारतबाट आयात हुने वस्तुमा ५२ प्रतिशत भन्सार लाग्दै आएको थियो । त्यस्तै, जापानबाट आयात हुने वस्तुमा ४६ प्रतिशत र श्रीलंकाबाट अमेरिकामा आयात हुने वस्तुमा ८८ प्रतिशत भन्सार लगाइएको थियो । 

नेपालबाट अमेरिकामा निर्यात हुने वस्तु नेपालीलाई केन्द्रित गरेर जाने भएकाले अमेरिकामा यसले ठूलो असर नपार्ने ओझा बताउँछन् । 

एक समय नेपालका व्यवसायीले ठूलो परिमाणमा तयारी पोसाक निर्यात गरेर डलर आर्जन गरिरहेका थिए । ‘मल्टिफाइबर एग्रिमेन्ट’अनुसार कोटा प्रणाली खारेज भएपछि नेपालबाट निर्यात हुने तयारी पोसाकमा भन्सार शुल्क लाग्न गयो । जसको परिणाम मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा निकासी निरन्तर ओरालो लाग्न गयो । 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्