site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको करले अमेरिकालगायत कुन देशमा कस्तो प्रभाव पार्नेछ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि नयाँ कर लगाउने भएका छन् । ट्रम्पले कार र यसका पार्टपुर्जाको आयातमा कर लगाउनेछन् ।

ट्रम्पले अप्रिल २ लाई ‘मुक्ति दिवस’ भनेका छन् । ट्रम्पले विभिन्न व्यापारिक साझेदारहरूमाथि पारस्परिक शुल्क लगाउने बताएका छन् । 

ट्रम्पले स्टील र आल्मुनियम आयातमा कर लगाइसकेका छन् । उनले क्यानडा, चीन र मेक्सिकोबाट आयात हुने सामानहरूमा पनि कर लगाएका छन् ।

अमेरिकामा बढी निर्यात गर्ने र कम आयात गर्ने एसिया, युरोप र दक्षिण अमेरिकाका ती देशहरूमा उनले भन्सार लगाउने संकेत देखिएको छ ।

ट्रम्पले अहिलेसम्म सवारी साधनमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । यो अप्रिल २ देखि लागु हुनेछ ।

उनले कारका पार्टपुर्जामा लाग्ने भन्सार केही समयपछि लागु हुने बताएका छन् । 

अमेरिकाले हरेक वर्ष लगभग ८० लाख कार आयात गर्छ, जसको मूल्य लगभग २४० अर्ब अमेरिकी डलर बराबर हुन्छ ।

अमेरिकाले मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाएको छ । यसबाहेक क्यानडाबाट ऊर्जासँग सम्बन्धित आयातमा १० प्रतिशत कर लगाएको छ ।

अन्य देशले पनि कर लगाइरहेका छन्
मोटर र मोटरका पार्टपुर्जाहरू अमेरिका, मेक्सिको र क्यानडा स्वतन्त्र व्यापार सम्झौताको सर्तअन्तर्गत निर्माण गरिन्छन् र भन्सार शुल्क लाग्दैन । तर, यो अमेरिकी भन्सार अधिकारीहरूले भन्सार लगाउन नयाँ प्रणाली सिर्जना नगरेसम्म मात्र हो ।

ह्वाइट हाउसले क्यानडा र मेक्सिकोमाथि लगाइएको कर उनीहरूको सरकारलाई अवैध आप्रवासीहरू र गैरकानुनी रूपमा उत्पादित फेन्टानिललाई अमेरिकामा प्रवेश गर्न अनुमति दिनबाट रोक्नको लागि भनेको छ ।  

फेब्रुअरी ४ मा अमेरिकाले चीनबाट आउने सामानहरूमा १० प्रतिशत कर लगाएको थियो । जुन मार्च ४ मा बढाएर २० प्रतिशत पुर्‍याइएको थियो । यद्यपि, ८०० डलरभन्दा कम मूल्यको ढुवानी समावेश गरिएको छैन ।

जवाफमा चीनले कृषि उपकरणसहित अमेरिकी सामानहरूमा १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ ।

क्यानडाले ४० अर्ब डलरभन्दा बढी मूल्यका अमेरिकी सामानहरूमा कर लगाएको छ । 

मार्च १२ मा अमेरिकाले विश्वका कुनै पनि देशबाट अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो ।

अमेरिकाको यो कदमले क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया, भियतनाम र जापानलाई असर गरेको छ । किनभने उनीहरूले अमेरिकाबाट स्टील र आल्मुनियम आयात गर्छन् ।

युरोपेली संघले अप्रिल १ देखि २८ अर्ब डलर बराबरका अमेरिकी सामानहरूमा शुल्क लगाउनेछ । यसमा बर्बन ह्विस्की, मोटरसाइकल र डुंगाहरू समावेश छन् ।

मार्च २५ देखि अमेरिकाले भेनेजुएलाबाट तेल खरिद गर्ने देशहरूबाट आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार कर लगाएको छ ।

ह्वाइट हाउसले देशको ‘भ्रष्ट’ सरकारमाथि दबाब दिन चाहेको बताएको छ ।

अनुसन्धान कम्पनी मुडिज एनालिटिक्सले हालको भन्सार शुल्क १.४ ट्रिलियन डलर बराबरका सामानहरूमा लागु हुने बताएको छ । यसले आयातित सामानहरूमा औसत अमेरिकी भन्सार दर ३ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याउँछ । यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा धेरै हो । 

अप्रिल २ देखि कुन–कनुनयाँ शुल्क लागु हुनेछन् ?
“दशकैँदेखि हामीलाई संसारका सबै देशहरूले लुट्दै आएका छन्, जसमा मित्र र शत्रु दुवै छन् । अमेरिकाले केही पैसा र सम्मान फिर्ता पाउने समय आएको छ,” ट्रम्पले भनेका छन् । 

ट्रम्पले चुनावी अभियानका क्रममा बारम्बार दोहोर्‍याएका थिए, अमेरिका प्रवेश गर्ने कम्पनीहरूका सामानहरूमा लाग्ने भन्सारमा १० देखि २० प्रतिशतले कमी ल्याउनेछु । 

ट्रम्पले हालै पारस्परिक शुल्क लगाउने बारेमा भने, “तिनीहरूले हामीबाट शुल्क लिन्छन् र हामी उनीहरूबाट शुल्क लिन्छौँ ।” 

यद्यपि, मार्च २४ मा न्यूजम्याक्स टिभी च्यानललाई दिइएको अन्तर्वार्तामा उनले यस योजनामा आफ्नो अडान नरम हुनसक्ने र धेरै देशहरूलाई राहत दिनसक्ने बताएका थिए ।

केही देशलाई भने अलग राख्नेबारे उनले भने, “हामी उनीहरूले लिइरहेको भन्दा कम शुल्क लिनेछौँ ।” 

सीएनबीसीको रिपोर्टले ह्वाइट हाउसलाई उदृत गर्दै यसले सामानहरूमा मूल्य अभिवृद्धि कर लगाउने देशहरूमा भन्सार लगाउने योजना त्याग्न सक्ने जनाएको छ । 

एबीसी न्यूजले आफ्नो स्रोतलाई उदृत गर्दै नयाँ करको ध्यान अमेरिकामा बढी निर्यात गर्ने देशमा केन्द्रित हुने जनाएको छ । 

“ती देशहरूको लगभग १५ प्रतिशत हो,” अर्थमन्त्री स्कट बेसान्टले हालै भने, “तर व्यापारको लागि त्यो ठूलो संख्या हो ।”

२०२४ मा अमेरिकासँगको व्यापारमा ठूलो घाटा भएका देशहरूमा युरोपेली संघ, मेक्सिको, भियतनाम, ताइवान, जापान, दक्षिण कोरिया, क्यानडा, भारत, थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया पर्छन् ।

मिडिया रिपोर्टका अनुसार आयातित कारहरू बाहेक, ट्रम्पले हालै औषधि उत्पादन र कम्प्युटर चिप्सको आयातमा पनि शुल्क लगाउने धम्की दिएका छन् ।

ट्रम्प किन कर लगाउन चाहन्छन् ?
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो आर्थिक नीतिको केन्द्रमा करलाई राखेका छन् ।

उनी अमेरिकामा व्यापार सन्तुलन ल्याउन चाहन्छन् । अमेरिकाको आयात र निर्यातबीचको खाडल कम गर्ने उनको चाहना छ । 

सन् २०२४ मा अमेरिका लगभग ९०० अर्ब अमेरिकी डलरको व्यापार घाटामा थियो ।

मार्च ४ मा ट्रम्पले अमेरिकी कांग्रेसलाई भने, “पृथ्वीका हरेक देशले हामीलाई दशकौँदेखि लुटेका छन् । तर, हामी अब त्यसो हुन दिने छैनौँ ।” 

ट्रम्प लामो समयसम्म करले अमेरिकाको उत्पादन क्षमता र रोजगारी बढाउने बताउँछन् । यससँगै कर राजस्व र आर्थिक वृद्धि पनि बढ्ने उनको विश्वास छ । 

उनले यो शुल्कले अमेरिकी सरकारको राजस्व बढाउने बताएका छन् ।  

ट्रम्पले भन्सार शुल्कका कारण विदेशी कम्पनीहरूले अमेरिकामा सामान उत्पादन गर्ने बताका छन् ।

ट्रम्पले मार्च २४ मा दक्षिण कोरियाली कार कम्पनी हुन्डाईले अमेरिकामा २१ अर्ब डलर लगानी गरिरहेको घोषणा गरे । उनले शुल्कका कारण आफ्नो व्यवसाय अमेरिका सार्दै गरेको दाबी गरे । 

अमेरिका र अन्य देशमा करको कस्तो प्रभाव पर्छ ?
अर्थशास्त्रीहरूले भन्सार शुल्कले अमेरिकी उपभोक्ताहरूको लागि मूल्य बढाउने चेतावनी दिएका छन्  । आयातित सामानहरूमा अमेरिकी कम्पनीहरूको उत्पादन लागत बढाउने उनीहरूको भनाइ छ । 

उनीहरूले अन्य देशहरूले लगाएको प्रतिशोधात्मक करले अमेरिकी निर्यातकर्ताहरूलाई हानि पुर्‍याउने चेतावनी पनि दिएका छन् ।

मुडिज एनालिटिक्सले भन्सार शुल्कका कारण आगामी वर्ष अमेरिकी अर्थतन्त्रमा ०.६ प्रतिशतले गिरावट आउने र यसका कारण २.५ लाख रोजगारी गुम्ने बताएको छ ।

मुडिज एनालिटिक्सले क्यानडा र मेक्सिको आफ्नो आयातको लागि अमेरिकी बजारमा निर्भर रहेको र यसको लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ । मन्दीबाट बच्न असम्भव हुने बताएको पनि उसको भनाइ छ । बीबीसी
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्