site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामाजिक सञ्जाल सञ्चालन गर्नेहरू ३० दिनभित्र सूचीकृत नभए रोक लगाइने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका यस्ता सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए नेपालभित्र सञ्चालनमा रोक लगाउने जानकारी दिएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाअनुसारको फारम भरेर बुझाउन भनिएको छ ।

“सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची –१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ,” सूचनामा भनिएको छ, “साथै उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ ।”

कानुनी व्यवस्थाअनुसार हालसम्म भाइबर मिडिया एस.ए.आर.एल, टिकटक पीटीई.एलटीडी र सारांश मिडिया ल्याब प्रा.लि. (विटक) मन्त्रालयमा सूचीकरण भएर सञ्चालनमा रहेका छन् ।

निर्देशिका बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्न र नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न मन्त्रालयले भनेको छ । “तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ,” सूचनामा भनिएको छ । निर्देशिकाको दफा ३ को उपदफा (७) मा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्