site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकहरूको फागुनसम्मको अवस्था : ६० खर्ब ३७ अर्ब निक्षेप संकलन, साढे ४८ खर्ब ऋण लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२९ प्रतिशत कायम छ । नेपाल राष्ट्र बैंकले यस्तो रेसियो ९० प्रतिशतसम्म कायम गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । तर, आन्तरिक कारणले गर्दा बैंकहरू अहिले ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन् ।

२० वाणिज्य बैंकहरूले फागुन मसान्तसम्म ६० खर्ब ३७ अर्ब चार करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो भनेको सर्वसाधारणबाट बैंकहरूले विभिन्न खातामार्फत बचत गरेका हुन् । बैंकहरूले सर्वसाधारणबाट उठाएको पैसाबाट फागुन मसान्तसम्म ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ ऋण दिएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार, बैंकहरूले अझै पनि साढे ६ अर्ब रुपैयाँ ऋण लगानी गर्न सक्छन् । तर, बैंकहरूले यसअघि दिएको ऋण समयमा उठाउन नसक्दा अहिले ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन् ।

नेपाल बैंकर्स संघका अनुसार, १० महिनाको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी सुस्तरूपमा बढ्दै गएको छ । चालु वर्षको भदौसम्म ५७ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले फागुनसम्म आइपुग्दा दुई खर्ब ४८ अर्ब ४७ करोड रुपैयाँले बढाएर ६० खर्ब ३७ अर्ब चार करोड रुपैयाँ पुर्‍याएका हुन् । तर, भदौको तुलनामा असोजमा निक्षेप संकलन घटेर ५९ खर्ब २२ अर्बमा झरेको थियो ।

त्यस्तै, असोजको तुलनामा कात्तिकमा घटेर निक्षेप ५९ खर्ब तीन अर्बमा झरेको थियो । तर, कात्तिकको तुलनामा मंसिरमा बढेर ५९ खर्ब ३७ अर्ब पुगेको थियो । त्यसपछि लगातार निक्षेप संकलनमा सुधार देखिएको छ । पुसमा ५९ खर्ब ८७ अर्ब, माघमा ५९ खर्ब ९७ अर्ब निक्षेप संकलन भएको थियो ।

त्यसैगरी भदौको तुलनमा असोज र कात्तिकमा ऋण लगानी घटेको छ । भदौमा ४६ खर्ब ८१ अर्ब, असोजमा ४६ खर्ब ७९ अर्ब र कात्तिकमा ४७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । त्यसपछिका तीन महिना पुस, माघ र फागुनमा ऋण लगानी लगातार बढ्दै गएको छ । पुससम्म ४८ खर्ब १५ अर्ब, माघसम्म ४८ खर्ब २७ अर्ब र फागुनसम्म ४८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

सीडी रेसियो कुन बैंकको कति ?

बैंक सीडी रेसिया
कृषि विकास बैंक लिमिटेड ७६.९९%
सिटिजन्स बैंक इन्टरनेनल लिमिटेड ८४.३२%
एभरेस्ट बैंक लिमिटेड ८३.५२%
ग्लोबल आइएमई बैंक लिमिटेड ७७.९५%
हिमालयन बैंक लिमिटेड ८२.२०%
कुमारी बैंक लिमिटेड ८२.५८%
लक्ष्मी सन्‌राइज बैंक लिमिटेड ८१.०५%
माछापुच्छ्रे बैंक लिमिटेड ८५.६५%
नबिल बैंक लिमिटेड ८२.३४%
नेपाल बैंक लिमिटेड ८२.३४%
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ७६.७६%
नेपाल एसबीआई बैंक लिमिटेड ७६.०७%
एनआईसी एसिया बैंक लिमिटेड ८३.६१%
एनएमबी बैंक लिमिटेड ८३.३३%
प्रभु बैंक लिमिटेड ७४.९७%
प्राइम कमर्सियल बैंक लिमिटेड ८४.९९%
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ६३.८६%
सानिमा बैंक लिमिटेड ८०.६५%
सिद्धार्थ बैंक लिमिटेड ८३.६५%
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ६८.४८%
औसत ७९.७७%

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्