site stats
बाह्रखरी :: Baahrakhari
कला
‘लाज शरणम्’मा धुर्मुसले पेट ठूलो देखाउन चीनबाट ल्याएका थिए १० किलोको पेटजस्तै सामग्री 

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का मुख्य कलाकार सिताराम कट्टेल (धुर्मुस)को लुक्सलाई लिएर राम्रै चर्चा भयो । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको ‘लुक्स’मा देखिएको भन्दै उनको चर्चा भयो । 

तर, यथार्थमा धुर्मुस ‘लाज शरणम्’मा नेताको क्यारेक्टर नभएर व्यापारीको क्यारेक्टरमा छन् । उनी भारतीय व्यापारीको चरित्रमा छन्, जसको नाम चाचा छ ।  

अधबैंसे उमेरको क्यारेक्टरमा देखिएका उनले पाइजामा र हाफकोट लगाएका छन् । धुर्मुसको रियल शरीरभन्दा निकै मोटो देखिन्छन्, उनी । 

पेट ठूलो देखाउन उनले शरीरको तौल बढाएका थिए । तौल बढाएर मात्र नपुगेर चीनबाट आफ्नै नाप पठाएर पेटजस्तै देखिने सामग्री मगाएका थिए । 

“कपडा वा यस्तै अरु चिज राख्दा त्यो स्वभाविक नदेखिने भएपछि हामीले चीनबाट नौ केजीको पेटजस्तै सामग्री मगायौँ,” लाज शरणम्का कार्यकारी निर्माता अर्जुन घिमिरेले भने, “दश केजीको सामग्री पेटमै लगाएर हिँड्नुभयो ।” 

कपडा वा यस्तै केही साम्रगी पेटमा राख्दा त्यो ‘नेचुरल’ जस्तो नदेखिने भएकाले चीनबाट हुबहु पेटजस्तै देखिने सामग्री ल्याएको उनको भनाइ छ । 
 
सिताराम मुख्य भूमिकामा रहेको चलचित्र ‘लाज शरणम्’ फागुन १४ गते रिलिज भइसकेको छ । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । 

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्