site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
फेसबुकका लाइभ भिडियो ३० दिनपछि डिलिट हुने, के छन् जोगाउने विकल्प ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडियोहरू ३० दिनपछि डिलिट गर्ने भएको छ ।

अमेरिकी टेक कम्पनी मेटाको सामाजिक सञ्जाल फेसबुकले फेब्रुअरी १९ देखि पुराना लाइभ भिडियो डिलिट गर्न लागेको हो ।

नयाँ नीति लागु भएसँगै प्रयोगकर्ताले आफ्नो लाइभ भिडियो जोगाउन उक्त भिडियो सेभ गरेर वा रिलमा परिणत गरेर राख्नुपर्नेछ ।

कम्पनीको यो नयाँ नीतिअनुसार पहिलेका लाइभ भिडियो प्रयोगकर्ताले ती भिडियो जोगाउने विकल्प भने पाउनेछन् ।

पुराना लाइभ भिडियो डिलिट गर्नुअघि कम्पनीले प्रयोगकर्तालाई नोटिफिकेसन वा सूचना उपलब्ध गराउनेछ ।

सो अनुसार प्रयोगकर्ताले ९० दिनसम्ममा पुराना लाइभ भिडियो डाउनलोड गर्ने, आफ्ना अन्य क्लाउड स्टोरेजमा राख्ने वा रिलमा रूपान्तरण गर्नेजस्ता विकल्प पाउनेछन् ।

मेटाले लाइभ भिडियोहरूमा धेरैजसो भ्युज पहिलो सातातिर मात्रै आउने गरेको बताएको छ ।

कम्पनीले यो निर्णय सबै प्रयोगकर्तालाई लाइभ भिडियोको राम्रो अनुभव प्रदान गर्न र उद्योगको मापदण्डअनुसारको स्टोरेज नीति भएको बताएको छ ।

फेसबुकको लाइभ प्रतिद्वन्द्वी ट्विटर (एक्स)ले ६० दिनसम्मका लागि लाइभ भिडियो भण्डारण गर्छ ।

युट्युबले भने लाइभ भिडियोलाई नियमित भिडियोका रूपमा सधैँका लागि स्टोरेज गर्न दिन्छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्