site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुकूल व्यावसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् ।

७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनुभन्दा स्वच्छ व्यवसायमैत्री वातावरण सृजना गर्नेतर्फ सरकारका क्रियाकलापहरू केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने धारणा बताएका हुन् ।

“व्यापार, सहजीकरण, स्वच्छ र निष्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मुख्य उदेश्य लिएर हिँडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व संकलनलाई उच्च महत्त्व दिएको अवस्था छ । तर, मुलुकको समग्र विकासको लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु मुलुकको दीर्घकालीन हितको लागि श्रेयस्कर हुन्छ,” उनले भने ।

वैध व्यापार प्रोत्साहित गरी अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मुख्य देशहरूसँग द्धिपक्षीय सम्झौता गरी स्वचालित डाटा आदनप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्यून तथा अधिक विजकीकरण, वर्गीकरण लगायतका समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सकिने ढकालले बताए ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्