site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गोदाममा मल छ, किसानले पाउँदैनन्

सिरहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौजदात हुँदा पनि किसानले मल पाएका छैनन् ।  मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको परिमाण यकिन नगर्दा किसानले मल नपाएका हुन् । 

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको परिमाण यकिन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताए । 

“प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ”, उनले भने, “मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो । पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रियाअगाडि बढ्छ ।” 

लहानस्थित कृषि सामग्री कम्पनीले कोसी प्रदेशका खोटाङ, ओखलढुंगा, सोलु र मधेस प्रदेशको सिरहामा रासायनिक मल वितरण आएको छ । प्रबन्धक पौडेलका अनुसार कोसी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको संख्या उल्लेख गरी पठाइसकिएकाले कोसी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ । 

प्रक्रियागत त्रुटिका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् । तर, सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डीएपी र सात सय मेट्रिक टन युरिया मल मौजदात रहेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्