site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तरकारीको रानीगाउँ बन्दै गरेको पर्वतको महाशिला : अब बाँझो जग्गामा आफैँ खेती गर्ने

पोखरा । पर्वतको महाशिला गाउँपालिकाले स्थानीय तहभित्र रहेका बाँझो जग्गामा आफैँले कृषि उद्यम गर्ने भएको छ ।

गाउँसभाको १७औँ अधिवेशनले सोका लागि महाशिला कृषि संस्था (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिमा पारित गरेको हो ।

बढ्दो बसाइँसराइका कारण गाउँपालिकाभित्रका उत्पादनयोग्य भूमि बाँझो रहेको र त्यस्तो जग्गाका धनी आफैँले उत्पादकत्वका कार्य गर्ने भएमा गाउँपालिकाले जग्गा उपयोगमा दिन बारम्बार प्रस्ताव राख्दै आएकाले त्यस्ता जग्गाको उपयोग गर्नका लागि ऐनको तर्जुमा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।

गत आर्थिक वर्षदेखि तरकारी खेतीमा व्यापक लगानी गर्दै आएको यस स्थानीय तह तरकारीको रानी गाउँ बन्दै गरेको पनि उनले बताए । पर्वतको विकट भौगोलिक परिवेशयुक्त उक्त गाउँपालिकामा पर्याप्त सिँचाइको अभाव भएका कारण कृषि उत्पादन भने न्यून छ ।

गाउँसभाबाट पारित विधेयकले गाउँपालिकाभित्र रहेका सम्पूर्ण जग्गामा कृषि स्वयंसेवक र मौसमी कामदारलाई काममा लगाई तरकारी र फलफूल बालीको उत्पादन गर्ने र सोको बजारीकरण गर्ने गरी एक कम्पनी स्थापनाका लागि बाटो खोलिदिएको छ ।

यसका साथै गाउँसभाको अधिवेशनले गाउँपालिकाको छाप र गान प्रयोग गर्नेसम्बन्धी विधेयक, २०८१ र महाशिला गाउँपालिकाको अनुदान तथा आर्थिक सहायता रकमलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक, २०८१ समेत पारित गरेको छ । सोही सभाबाट गाउँपालिकाको आफ्नो लोगो र गान समेत पारित गर्नुका साथै छनौट भएका सिर्जनाका सर्जकलाइ सम्मान समेत गरेको छ ,

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्