site stats
बाह्रखरी :: Baahrakhari
कला
एउटै चलचित्रबाट ६० लाख पारिश्रमिक लिन्छन् केदार घिमिरे 

काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ पछिल्लो समय ‘छक्का पञ्जा’ सिरिजभन्दा बाहिरका चलचित्रमा अनुबन्ध भइरहेका छन् । ‘माग्ने राजा’, ‘माइतीघर’, ‘जेरी अन टप’, ‘कंगारु’ उनले साइन गरेका चलचित्र हुन् ।

‘छक्का पञ्जा’ सिरिजबाट बाहिरका चलचित्र पनि खेल्ने भएपछि उनलाई थुप्रै मेकरले आफ्नो सिनेमाका निम्ति साइन गराइरहेका छन् । उनले ‘छक्का पञ्जा’ सिरिजभन्दा बाहिर सबैभन्दा पहिला साइन गरेको चलचित्र ‘कंगारु’ हो । पछिल्लो साइन गरेको चलचित्र ‘माइतीघर’ हो ।

केदारलाई निर्माताले महँगो पारिश्रमिक तिरेर चलचित्रमा अनुबन्ध गरिरहेका छन् । उनले एउटै चलचित्रबाट ६० लाख रुपैयाँसम्म लिने गरेका छन् । स्रोतका अनुसार, उनले ‘कंगारु’मा ६० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

“उहाँ (केदार घिमिरे)को अहिलेको पारिश्रमिक ५० लाख रुपैयाँ हो । ६० लाख रुपैयाँ पारिश्रमिक भनेर ५० लाख रुपैयाँ लिइरहनुभएको छ,” केदार घिमिरेलाई आफ्नो चलचित्रमा अनुबन्ध गराएका एक निर्माताले बाह्रखरीसँग भने, “५० लाखबाट एक रुपैयाँ पनि कम गर्नु हुन्न ।”

एउटै नेपाली चलचित्रमा कलाकारलाई निर्माताले तिरेको यो सबैभन्दा धेरै पारिश्रमिक हो । नायक अनमोल केसीले यसअघि सबैभन्दा धेरै ५० लाख रुपैयाँ पारिश्रमिक लिएको समाचार सार्वजनिक भएको थियो । उनले ५० लाखको कर तिरेको रसिद पनि बाहिर आएको थियो ।

“केदारजी ५० लाख रुपैयाँभन्दा तल पारिश्रमिक लिन मान्नु हुन्न । केही रकम घटाउन आग्रह गर्दा मिल्दैन भन्दै अरू चलचित्रमा गरेको ५० लाख रुपैयाँको एग्रिमेन्ट पेपर नै देखाउनुहुन्छ,” अर्का एक निर्माताले भने ।

महँगो पारिश्रमिक लिने केदार स्क्रिप्टदेखि नै बस्ने गरेका छन् । आफ्नो सिन मात्र होइन, पूरै स्क्रिनप्लेमा नै उनी काम गर्छन् । “कम्तीमा एक हप्ता उहाँ स्टोरी करेक्सनमा बस्नुहुन्छ । डाइलग आफैँ लेख्नुहुन्छ,” ती निर्माता अगाडि थप्छन्, “उहाँले खेलेका चलचित्र कस्ता हुन्छन्, थाहा छैन । तर, स्क्रिनप्लेमा बसेकाले मिहिनेत गर्ने भने देखिन्छ । सायद स्टोरीमा पनि काम गरेकाले पनि ६० लाख माग्ने गर्नुभएको होला ।”

५० देखि ६० लाख रुपैयाँ पारिश्रमिक एउटै कलाकारलाई दिँदा सिनेमाको लगानी उच्च हुन्छ । जति धेरै बजेट भयो, त्यति नै लगानी उठाउन रिस्क बढी हुन्छ ।

५० देखि ६० लाख पारिश्रमिक लिएका केदारको सोलो लिड रोल भने ‘माग्ने राजा’मा मात्र हो । अरू चलचित्रमा उनीसँगै समानान्तर रूपमा अरू कलाकार पनि छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्