site stats
बाह्रखरी :: Baahrakhari
कला
‘समाज परिवर्तनका लागि अग्निदहन’

काठमाडौं । चलचित्र ‘अग्निदहन’का कलाकारले ‘अग्निदहन’ले समाज परिवर्तनका लागि भूमिका निर्वाह गर्ने बताएका छन् । समाजमा ‘बोक्सी’ हुन्छ भन्ने भ्रम समाजमा अझै पनि रहेको भन्दै ‘अग्निदहन’ले त्यसविरुद्ध आवाज उठाउने उनीहरूको भनाइ छ । 

चलचित्रका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले ‘बोक्सी’ प्रथा उन्मुलन गराउन आफूहरूले चलचित्र बनाएको बताए । ‘बोक्सी’का नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेलाबेलामा सार्वजनिक भइरहेका भन्दै चलचित्रमार्फत ‘बोक्सी’ हुँदैन भन्ने सन्देश दिन चाहेको उनले बताए । 

अभिनेत्री प्रमिला तुलाचनले आफूले ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’को चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको बताइन् । “मैले निर्वाह गरेको चरित्र निकै चुनौतीपूर्ण थियो । समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु”, उनले भनिन् ।

कलाकार तुलसी क्षेत्रीले ‘बोक्सी’को आरोप लागेका महिलालाई धामीझाक्रीले दिने यातना असह्य हुने उनको भनाइ छ । “चलचित्रमा मलाई धामीले फलामले डामेको दृश्य छ । त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो,” उनले भनिन्, “बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरूलाई झन कति पीडा भयो होला ।” 

निर्देशक घनश्याम लामिछानेले ‘अग्निदहन’ व्यावसायिक हिसाबले नबनाएको बताए । “मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रूपमा अभियानको रुपमा अगाडि बढाउन चलचित्र निर्माण गरेका हौँ”, उनले भने ।

‘अग्निदहन’मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङलगायतको अभिनय छ ।

लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ । 

‘अग्निदहन’ यही शुक्रबार रिलिज हुँदै छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्