site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वतन्त्रको लर्को लागेको कीर्तिपुरमा सत्ता साझेदार आमनेसामने, रास्वपाले पाएन उमेदवार !

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर बन्ने आकांक्षा राख्दै २० जनाले उमेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, यही मंसिर १६ गते हुने उपनिर्वाचनका निम्ति २० जनाको उमेदवारी परेको हो । कीर्तिपुरकै वडा नम्बर १ को अध्यक्ष ९ र वडा नम्बर ४ मा १३ जनाले उमेदवारी दिएका छन् ।

उपनिर्वाचनका लागि आइतबार उमेदवारी दर्ताको कार्यक्रम थियो । उमेदवारहरू बाजागाजा र र्‍यालीसहित कीर्तिपुरस्थित इन्द्रायणी मन्दिरको प्रांगणमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उपनिर्वाचनका निम्ति उमेदवारी दर्ता गर्न पुगेकाहरू उत्साहित देखिन्थे । उमेदवाहरूले आफैँले जित्ने दाबी प्रस्तुत गरिरहेका थिए ।

०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

सत्तामा साझेदारी, चुनावमा प्रतिस्पर्धा

संसद्‌मा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ताको साझेदार हुन् । दुई दल प्रमुख प्रतिष्पर्धीका रूपमा प्रस्तुत भएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू प्रतिस्पर्धी रहेको सुनाए ।

“कांग्रेस र एमाले सरकारमा सँगै छौँ । सरकारमा सहकार्य र मैदानमा प्रतिस्पर्धाको नीतिमा हामी छौँ,” उनी भन्छन्, “कांग्रेसले जित्दा ऊर्जाका साथ काम गर्ने प्रेरणा दिन्छ । अर्को, प्रधानमन्त्रीलाई जिम्मेवार ढंगले कार्य गर्न सकारात्मक दबाबको भूमिका निर्वाह गर्न सक्छ ।”

उनले उपनिर्वाचनमा कांग्रेस पहिलो दल हुने दाबीसमेत गरे ।

Congress-Kirtiput-1731852204.jpg
एमालेका उमेदवार सुरेन्द्र मानन्धर वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, काठमाडौं–९ का सांसद कृष्णगोपाल श्रेष्ठसहितको टोली लिएर उमेदवारी दर्तामा पुगेका थिए । उनले यसपटक कीर्तिपुरमा विरासत फर्काउने दाबी गरे ।

“विरासत ब्युँतिएर आउँदै छ । हामीप्रतिको आशा व्यवहारमा परिणत गर्छौं,” उनले भने, “नगरवासीले देखाउनुभएको माया र सद्‌भाव नै जितेका आधार हो ।”

उनले आफूले जिते समृद्ध कीर्तिपुर बनाउने पनि बताए । “हाम्रो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउँछौँ । शान्ति र बस्नयोग्य बनाउँछौँ,” उनले भने ।

UML-Kirtpur-1731852206.jpg
कांग्रेस महामन्त्री शर्मा, काठमाडौं–१० का सांसद राजन केसीसहितको टोली उमेदवारी दर्ता गर्न पुगेका थिए । कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले कांग्रेसले विकास गर्छ भन्ने जनताको विश्वास नै जितको आधार भएको सुनाए ।

“पहिले लालकिल्ला भन्थे, संघीय निर्वाचनमा पनि लगातार जित्न सफल भएका छौँ । ०७९ को निर्वाचनमा १० मध्ये नौ वडा जितेका थियौँ,” मानन्धरले भने, “नगरवासीले कांग्रेसले नै हो विकास गर्ने भन्ने विश्वास गर्नुभएको छ । त्यो नै जितको आधार हो ।”

माओवादीले खोजेको साथ

उमेदवारी दर्ताअघि एक्लै लड्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले अरू दलको साथ खोज्यो । उमेदवारी दर्ताको एक दिनअघि मात्रै प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले कीर्तिपुरमा माओवादीलाई काठमाडौं–१६ माओवादीले एकीकृत समाजवादीलाई सघाउने निर्णय भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा पुग्दासम्म माओवादीलाई सत्तारूढ जनता समाजवादी पार्टी (जसपा)ले पनि सघाउने निर्णय भयो । सोही निर्णयका कारण माओवादीले काठमाडौं–१ मा उमेदवार बनाउने भनिएका अष्टमान महर्जन उमेदवार बन्न पाएनन् । त्यहाँ गठबन्धनको तर्फबाट जसपाका सरल गोपाल महर्जन उमेदवार बने ।

Maoist-Kirtipur-1731852204.jpg
मेयरमा उमेदवार शिवशरण महर्जन प्राध्यापक हुन् । उनी ०७९ को निर्वाचनमा पराजित भएका थिए । यतिखेर तालमेल भएका कारण आफूले चुनाव जित्ने दाबी उनले गरेका छन् ।

एकीकृत समाजवादी, जसपा, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलको सहयोगले यसपटक चुनाव जित्ने दाबी उनको छ । 

ज्ञानेन्द्रको पालामा मेयर भएकादेखि तेस्रो लिंगी उमेदवारसम्म

उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इन्जिनियर ध्रुव महर्जनलाई उमेदवार बनाएको छ । उनी शाहीकालमा ०६२ मा कीर्तिपुरको मेयर बनेका थिए । आफूले पहिले थोरै समय काम गर्न पाएको र आफ्नो योजना लागु गर्न अहिले फेरि उमेदवार बनेको बताए । आफूले नै चुनाव जित्ने दाबी उनको छ ।

कीर्तिपुरको मेयरमा जनता समाजवादी (पार्टी)ले तेस्रो लिंगीलाई उमेदवार बनाएको छ । उसले दीपक मर्जन (हनी)लाई उमेदवार बनाएको छ ।

Third-1731852205.jpg
यहाँ नेपाल (मजदुर) किसान पार्टीले श्रीकृष्ण श्रेष्ठ र जनमत पार्टीले केशव श्रेष्ठलाई मेयरको उमेदवार बनाएको छ । नेपाल समाजवादी पार्टीले दिलकुमार महर्जनलाई उमेदवार बनाएको छ । 

स्वतन्त्रको लर्को !

कीर्तिपुर उपनिर्वाचनमा स्वतन्त्र उमेदवारहरूको लर्को देखिएको छ । मेयर पदमा ११ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

स्वतन्त्र उमेदवारी दिनेमा आनन्द महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी, धर्मरत्न मानन्धर, नरेश श्रेष्ठ छन् ।

त्यस्तै, नरेशराज पाण्डे, नवरथकुमार बाँनिया, प्रेमबहादुर महर्जन, मिम महर्जन, राजमान महर्जन, रामकृष्ण महर्जन रहेका छन् ।

स्वतन्त्र उमेदवारी दिएका राजमान सरसफाइ अभियन्ता हुन् । राजमानका समर्थक कुच्चो बोकेर उमेदवारी दर्ता गर्न पुगेका थिए ।

कीर्तिपुर नगरपालिकाको मेयरका लागि उमेदवार दिएकाहरूको विवरण :

क्र.सं. मनोयनपत्र दर्ता नम्बर उम्मेदवारको विवरण राजनीतिक दल/स्वतन्त्र
नाम, थर (वर्णानुक्रम अनुसार) पिता/ माताको नाम पति/ पत्नीको नाम, थर उमेर लिङ्ग ठेगाना
२० आनन्‍द महर्जन माईला भाई महर्जन/भाईचा महर्जन सुप्रिया महर्जन ४३ पुरुष कीर्तिपुर नगरपालिका-६, काठमाडौ‌ स्वतन्त्र
१६ कवि कुमार महर्जन श्रीभक्त महर्जन/तुयुमै महर्जन सरिता महर्जन ४६ पुरुष कीर्तिपुर नगरपालिका-५, काठमाडौ‌ स्वतन्त्र
१७ कृष्ण मान डंगोल पञ्चु नारायण महर्जन/केशरी महर्जन शर्मिला महर्जन (डंगोल) ५५ पुरुष कीर्तिपुर नगरपालिका-२, काठमाडौ‌ नेपाली काँग्रेस
१५ केशव श्रेष्‍ठ चन्द्र बहादुर श्रेष्‍ठ/गंगा श्रेष्‍ठ गमला श्रेष्‍ठ ४९ पुरुष कीर्तिपुर नगरपालिका-९, काठमाडौ‌ जनमत पार्टी
११ दिनेश कुमार अधिकारी प्रद्युम्न अधिकारी/शुसिला अधिकारी विनिता अधिकारी ४६ पुरुष कीर्तिपुर नगरपालिका-५, काठमाडौ‌ स्वतन्त्र
दिपक महर्जन सूर्ज बहादुर महर्जन/विष्‍णु देवी महर्जन ज्ञानी देवी महर्जन ४४ अन्य कीर्तिपुर नगरपालिका-३, काठमाडौ‌ जनता समाजवादी पार्टी, नेपाल
दिल कुमार महर्जन भगत लाल महर्जन/देव कुमारी महर्जन   ४५ पुरुष कीर्तिपुर नगरपालिका-८, काठमाडौ‌ नेपाल समाजवादी पार्टी
१४ धर्म रत्न मानन्धर शुक बहादुर मानन्धर/दिल माया मानन्धर हिरा देवी मानन्धर ५४ पुरुष कीर्तिपुर नगरपालिका-३, काठमाडौ‌ स्वतन्त्र
ध्रुब महर्जन जगत बहादुर महर्जन/जगत माया महर्जन रिता महर्जन ६८ पुरुष कीर्तिपुर नगरपालिका-३, काठमाडौ‌ राष्ट्रिय प्रजातन्त्र पार्टी
१० १३ नरेश श्रेष्‍ठ भक्त बहादुर श्रेष्‍ठ/पुष्‍प कुमारी श्रेष्‍ठ रविना श्रेष्‍ठ ५१ पुरुष कीर्तिपुर नगरपालिका-१०, काठमाडौ‌ स्वतन्त्र
११ १९ नरेश राज पाण्डे श्‍याम प्रसाद पाण्डे/गुहेश्‍वरी पाण्डे कादम्विनी खरेल (पाण्डे) ४९ पुरुष कीर्तिपुर नगरपालिका-१, काठमाडौ‌ स्वतन्त्र
१२ नवरथ कुमार बानिया उदय बहादुर बानिया/तिल कुमारी बानिया सरोजा अधिकारी (बानिया) ५५ पुरुष कीर्तिपुर नगरपालिका-७, काठमाडौ‌ स्वतन्त्र
१३ १० प्रेम बहादुर महर्जन वीर बहादुर महर्जन/तुलसी माया महर्जन मैंया महर्जन ६७ पुरुष कीर्तिपुर नगरपालिका-६, काठमाडौ‌ स्वतन्त्र
१४ १८ भानु रिजाल ओम राज रिजाल/स्व. राधा रिजाल सुनिता अधिकारी ४२ पुरुष कीर्तिपुर नगरपालिका-४, काठमाडौ‌ नेकपा (एकिकृत समाजबादी)
१५ मिम महर्जन सानु भाई महर्जन/गंगा माया महर्जन कल्पना प्रजापती ४० पुरुष कीर्तिपुर नगरपालिका-८, काठमाडौ‌ स्वतन्त्र
१६ राज मान महर्जन भुयू महर्जन/लक्ष्‍मी माया महर्जन ललिता महर्जन ६० पुरुष कीर्तिपुर नगरपालिका-१, काठमाडौ‌ स्वतन्त्र
१७ राम कृष्ण महर्जन कुमाचा महर्जन/सन्त माया महर्जन बुद्ध लक्ष्मी महर्जन ६० पुरुष कीर्तिपुर नगरपालिका-४, काठमाडौ‌ स्वतन्त्र
१८ १२ शिव शरण महर्जन पुर्णलाल महर्जन/गंगामाया महर्जन कमला महर्जन ६८ पुरुष कीर्तिपुर नगरपालिका-१०, काठमाडौ‌ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१९ श्रीकृष्ण महर्जन अष्ट बहादुर महर्जन/चन माया महर्जन अष्ट माया महर्जन ७० पुरुष कीर्तिपुर नगरपालिका-५, काठमाडौ‌ नेपाल मजदुर किसान पार्टी
२० सुरेन्द्र मानन्धर सिद्धि लाल मानन्धर/हरि माया मानन्धर अन्शु मानन्धर ५० पुरुष कीर्तिपुर नगरपालिका-३, काठमाडौ‌ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)

रास्वपाले किन दिएन उमेदवारी ?

संसद्को चौथो ठूलो दल रास्वपाले कीर्तिपुरमा उमेदवार उठाउने बताइरहेको थियो । तर, चासोका साथ हेरिएको कीर्तिपुरमा अन्तिम समयसम्म पनि उमेदवार उठाउन सकेन ।

रास्वपाले उमेदवार छनोटका लागि आन्तरिक मापदण्ड पनि बनाएको थियो । जसमा प्रारम्भिक निर्वाचनका लागि उमेदवारी आह्वान गरेको थियो । कीर्तिपुर नगरसभापति जयराम कार्कीले उमेदवारी दिएका थिए ।

तर, उनलाई पार्टीले उमेदवार बनाएन । चुनाव जित्न सक्ने उमेदवार भेटाउन नसकिएको एक नेताको दाबी छ ।

“हामीले उमेदवार उठाउने भनेको चुनाव जित्न हो । पार्टी भर्खर बन्दै छ । पार्टीमा कताकताबाट जोडिएको व्यक्तिहरू छौँ,” एक नेताको दाबी छ, “जित्न राम्रो उमेदवार भएनन् ।”

ती नेताका अनुसार, प्रारम्भिक निर्वाचनका लागि उमेदवारी दिएका व्यक्तिलाई उठाउने आँट पार्टीले गर्न सकेन ।

“उमेदवारी परेका साथीले पनि औपचारिकताका लागि मात्रै उमेदवारी दिनुभएको थियो । उहाँले नगर हाँक्न सक्ने मूल्यांकन पार्टीले गर्न सकेन,” ती नेताको दाबी छ । 

रास्वपाका काठमाडौं संयोजक प्रदीप विष्टले कसलाई सघाउने भन्ने निर्णयमा पुगिनसकेको बताए ।

“हामीले यसपटक कीर्तिपुरमा उमेदवार नउठाउने निर्णय गर्‍यौँ । चुनावमा मत त हाल्नैपर्छ । कसलाई सघाउने भन्ने निर्णयमा पुग्न बाँकी छ,” उनले भने ।

नेताहरूका अनुसार, रास्वपा कांग्रेस वा एमालेले चुनाव जित्न नहुने पक्षमा छैन । सम्भव भए कुनै स्वतन्त्र उमेदवारलाई पार्टीले उमेदवारको रूपमा प्रस्तुत गर्ने छ । नभए, माओवादी उमेदवारलाई सघाउन सक्ने सम्भावना रहेको एक नेताले बताए ।

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्