site stats
बाह्रखरी :: Baahrakhari
देश
लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्‌कालीन उद्धार योजना बनाउँदै सेना

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धार गर्नुपरेमा आवश्यक योजना नेपाली सेनाले बनाइरहेको बताएका छन् । रक्षा मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

“कदमकदाचित ठूलै किसिमको लडाइँ हुने अवस्था आयो भने त्यस्तो अवस्थामा के गर्ने भन्ने योजना यूएन हेडक्वाटरले गरेको छ,” प्रधानसेनापति सिग्देलले भने, “नेपाली सेनालाई कसरी फिर्ता ल्याउने वा सुरक्षित स्थानमा सार्ने भन्ने योजना हामी पनि बनाइरहेका छौँ ।”

इजरायल र लेबनानको चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध चलिरहेकोले अहिले संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक असहज अवस्थामा रहेको उनले बताए ।

“अवस्था असहज छ । असहज अवस्थामा पनि उनीहरू पूर्णरूपमा सुरक्षित छन्, बंकरमा बसेका छन्,” प्रधानसेनापति सिग्देलले भने । 

आफू रहेको क्षेत्रका सुरक्षा अवस्था ‘लेभल थ्री’मा हुँदा बंकर भित्र बस्नुपर्ने उनले बताए । “अहिले हामी कहिले लेभल टू र कहिले लेभल थ्रीमा हुन्छौँ । फायर बढेको बेला लेभल थ्रीमा जान्छ । यो घटेपछि फेरि लेभल टूमा आउँछ । उनीहरूलाई पूर्णरूपमा सुरक्षित राखेर यूएनले काम गराइराखेको छ,” उनले भने । अहिले लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्