site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाल जोशीमाथि अनुसन्धान गर्न फेरि २० दिनको म्याद थप

पोखरा । सूर्यदर्शन सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले फेरि २० दिनको समय दिएको छ । असोज १७ गतेदेखि लागु हुने गरी २० दिन म्याद थप गरिएको हो ।

गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी विमानमार्फत पोखरा ल्याएको थियो ।

अदालतले असोज ७ गते पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो । त्यसपछि पुनः ७ दिनको म्याद थप गरेको थियो । बिचमा दसैँ बिदामा अदालत बन्द भएपछि आज तेस्रोपटक म्याद थप गरिएको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने छ ।

संसदीय समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा जोशीलाई पनि कारबाही सिफारिस गरेको थियो । विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ । सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदनअनुसार, सुरुमा जीबी राई र जोशीले आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसअघि उनीहरू नेटवर्किङ व्यवसायमा साझेदार थिए । जोशीले नै बयानमा आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएको बताएका थिए ।

प्रतिवेदनअनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए ।

समितिले जीबी राईसहित कुमार रम्तेल, लामिछाने र जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्