site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निबन्धकार नयाँघरेको ‘आगोको बीउ’ लोकार्पित

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको नयाँ निबन्धकृति ‘आगोको बीउ’ लोकार्पण गरिएको छ । यो उनको १९औँ कृति हो ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार कृष्ण धरावासीलगायत अतिथिले कृति लोकार्पण गरे । 

Argakhachi Cement Island Ad

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि धरावासीले आफ्नो सबैभन्दा मनपर्ने विधा निबन्ध रहेको बताउँदै ‘आगोको बीउ’ पढ्दा आनन्द लागेको बताए । उनले निबन्धकार नयाँघरेको लेखनीमा जादु नै रहेको बताउँदै निबन्धमा निरन्तर लागिरहन भने । 

कृतिमाथि टिप्पणी गर्दै उपन्यासकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भए पनि पुस्तकभरि यो शब्द बिम्वका रूपमा प्रयोग भएको बताइन् । समालोचक भारती न्यौपानेले नयाँघरेका निवन्धहरूमा विचारको बिस्कुन देख्न सकिने उल्लेख गरिन् । 

कृतिमा भूमिका लेखेकी निबन्धकार तथा समालोचक कुमारी लामाले आफूलाई मन परेर नै भूमिका लेखेको बताइन् । 

कृतिकार नयाँघरेले आफू निबन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने भन्दै निबन्ध आफ्ना लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी भएको बताए । उनले भने, “हिँड्दा आवाज आउँछ, त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो ।”

२०६५ सालमा आत्मपरक निबन्धकृति ‘एक हातको ताली’बाट मदन पुरस्कार पाएका नयाँघरेको यस संग्रहमा २६ वटा आत्मपरक निबन्धहरू समावेश छ ।

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्