site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
३४ वर्षमा बंगलादेश, भारत र चीनसँगको तुलनामा नेपालको अवस्था कस्तो छ ?  

काठमाडौं । पछिल्लो ३४ वर्षको आर्थिक सूचक हेर्दा नेपाल बंगलादेश, भारत र चीनभन्दा निकै पछाडि रहेको देखिएको छ । सन् १९९० देखि २०२३ सम्मको आर्थिक सूचकले नेपाल ती तीन देशभन्दा हरेक क्षेत्रमा पछि परेको देखिन्छ ।

आर्थिक वृद्धि, लगानी, खर्च, आयात, निर्यात, बचत, प्रतिव्यक्ति आय, सार्वजनिक ऋण, मूल्यवृद्धिलगायत क्षेत्रमा बंगलादेश, भारत र चीनको तुलनामा नेपाल निकै कमजोर रहेको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

यो अवधिमा तुलनात्मक रूपमा नेपालको औसत आर्थिक वृद्धि सबैभन्दा कम ४.४ प्रतिशत छ । चीनको औसत आर्थिक वृद्धि सबैभन्दा बढी ८.८ प्रतिशत छ । यो अवधिमा भारत र बंगलादेशको औसत आर्थिक वृद्धि क्रमशः ६ र ५.६ प्रतिशत छ ।

सोही अवधिमा औसत लगानीको अवस्थालाई हेर्दा कुल गार्हस्थ उत्पादनमा स्थिर लगानीको अनुपात चीनको सबैभन्दा बढी ३७.८ प्रतिशत छ । नेपालको सबैभन्दा कम २३.३ प्रतिशत छ । बंगलादेश र भारतको सन्दर्भमा यस्तो अनुपात क्रमशः २५.३ र २९.० प्रतिशत छ ।

औसत उपभोग खर्चको अवस्थालाई हेर्दा नेपालको सबैभन्दा बढी अर्थात् कुल गार्हस्थ उत्पादनको ८९.६ प्रतिशत छ । सबैभन्दा कम चीनको ५६.२ प्रतिशत छ । बंगलादेश र भारतको यस्तो अनुपात क्रमशः ७९.६ र ७१.७ प्रतिशत छ ।

सन् १९९० देखि सन् २०२३ सम्म वस्तु तथा सेवा पैठारीको प्रवृत्ति विश्लेषण गर्दा कुल गार्हस्थ उत्पादनमा वस्तु तथा सेवा पैठारीको अनुपात नेपालको सबैभन्दा बढी ३२.८ प्रतिशत देखिन्छ । बंगलादेशको सबैभन्दा कम १८.९ प्रतिशत छ । भारत र चीनमा यस्तो अनुपात समान १९.४ प्रतिशत छ ।

अर्थ मन्त्रालयको विवरणानुसार, पछिल्लो ३४ वर्षको अवधिमा वस्तु तथा सेवा निकासीको प्रवृत्ति विश्लेषण गर्दा कुल गार्हस्थ उत्पादनमा चीनको वस्तु तथा सेवा निकासीको अनुपात सबैभन्दा बढी २२.४ प्रतिशत छ । नेपालको सबैभन्दा कम १३.८ प्रतिशत देखिन्छ । भारत र बंगलादेशको यस्तो अनुपात क्रमशः १७ र १३.२ प्रतिशत छ ।

कुल राष्ट्रिय बचतको प्रवृत्ति विश्लेषण गर्दा कुल गार्हस्थ उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात औसतमा सबैभन्दा बढी चीनको ४३.७ प्रतिशत र नेपालको सबैभन्दा कम २८.४ प्रतिशत छ । यो अवधिमा भारत र बंगलादेशको यस्तो अनुपात क्रमशः ३०.१ र ३१.८ प्रतिशत छ ।

बितेको ३४ वर्षको प्रतिव्यक्ति आयको विश्लेषण गर्दा चीनको प्रतिव्यक्ति आय ३९.७ र भारतको ६.७ गुणाले बढेको छ । यो अवधिमा नेपाल र बंगलादेशको यस्तो आय क्रमशः ७.२ र ८.६ गुणाले बढेको छ ।

सन् २०२३ मा चीन, बंगलादेश, भारत र नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलरमा क्रमशः १२ हजार ६१४, दुई हजार ५२९, दुई हजार ४८५ र एक हजार ३२४ थियो ।

२००३ देखि २०२२ सम्म सार्वजनिक ऋणको प्रवृत्ति दृष्टिगत गर्दा कुल गार्हस्थ उत्पादनमा सार्वजनिक ऋणको अनुपात सबैभन्दा बढी भारतको ७४.६ प्रतिशत देखिन्छ । सबैभन्दा कम बंगलादेशको ३२.३ प्रतिशत छ । नेपाल र चीनको यस्तो अनुपात क्रमशः ३७.० र ४२.९ प्रतिशत छ ।

१९९१ देखि २०२३ सम्मको औसत मुद्रास्फीतिलाई तुलना गर्दा नेपालको सबैभन्दा बढी ७.३ प्रतिशत र चीनको सबैभन्दा कम ३.८ प्रतिशत छ । भारत र बंगलादेशमा यस्तो मुद्रास्फीति क्रमशः ७.१ र ६.३ प्रतिशत छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्