site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाल–भारत–चीन सम्बन्ध, युरोप यात्राका संस्मरण र अब तिम्रो पालो

नेपाल–भारत–चीन सम्बन्ध
(कूटनीतिक इतिहास : प्रा. डा. श्रीरामप्रसाद उपाध्याय न्यौपाने)
त्रिभुवन विश्वविद्यालयमा करिब चार दशक विद्यार्थीलाई इतिहास शिक्षाको  ज्ञान बाँडेका प्राध्यापक श्रीरामप्रसाद उपाध्याय न्यौपानेको कूटनीतिक इतिहाससम्बन्धी केही समयअघि प्रकाशित पुस्तक हो, ‘नेपाल–भारत–चीन सम्बन्ध’ । पुस्तकमा प्राचीनदेखि वर्तमानसम्म सम्बन्धका विविध आयामको लेखाजोखा गरिएको छ ।

उनका अंग्रेजी र नेपालीमा गरेर यसअघि १२ पुस्तक प्रकाशित छन् । ‘नेपाल–भारत–चीन सम्बन्ध’भित्र लेखकले नेपालको परराष्ट्र नीतिअनुरूप भूगोल र इतिहास, नेपाल र भारतको सम्बन्ध, नेपाल र चीनको सम्बन्ध गरेर तीन भाग, नौ शीर्षकमा विविध विषयवस्तु पस्किएका छन् ।

कृतिभित्र भूमिकामा प्रा. डा. न्यौपानेले लेखेका छन्, “नेपाल–भारत–चीन सीमालाई तीनवटै देशले संवेदनशील रूपमा लिनुपर्दछ । दुवै देशको संयुक्त सीमा अनुगमन टोलीले निरन्तर रूपमा सिमानाको अनुगमन गर्नुपर्दछ । केही गरी कुनै कारणले भत्किएको वा नासिएको वा हराएको सीमास्तम्भको ठाउँमा दुवैको सहमतिमा त्यसै ठाउँमा नयाँ स्तम्भ बनाई ठड्याउनुपर्दछ ।”

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ३०४ पृष्ठको यो पुस्तकको मूल्य ६९५/– रुपैयाँ राखिएको छ ।
०००

युरोप यात्राका संस्मरण
(नियात्रासंग्रह : बिन्दु सुवेदी)

नेपाली साहित्यमा परिचित स्रष्टा बिन्दु सुवेदीको नियात्राकृति केही समयअघि बजारमा ल्याइएको छ, ‘युरोप यात्राका संस्मरण’ । सुवेदीका ‘जापानमा एक वर्ष’, ‘कुइराको घर’, ‘अंशुको यात्रा’, ‘मेरी दिदी र ऊ’लगायत यसअघि विभिन्न विधाका कृति प्रकाशित छन् ।

कृतिको भूमिकामा प्रा. डा. गोविन्दराज भट्टराईले लेखेका छन्, “नारी स्रष्टा (नियात्राकार) अल्पसंख्यक रहेको हाम्रो साहित्यमा युरोप यात्राको संस्मरणको विशेष महत्त्व छ । यस कृतिमा डेढ महिनाजतिको यात्रामा सात मुलुकका मुख्य ठाउँको संक्षिप्त भ्रमण वृत्तान्त छ ।...।”

पुस्तकभित्र युरोपेली मुलुकहरू स्वीट्जरल्यान्ड, हंगेरी, बर्लिन, इटाली, फ्रान्स, स्लोभाकिया र अस्ट्रियाका यात्रा संस्मरण समाविष्ट छ ।

सेर्गेम प्रकाशन गृह, दमक झापाद्वारा प्रकाशित २३८ पृष्ठको यो नियात्राकृतिको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।
०००

कुन्ती
(उपन्यास : हरिविनोद अधिकारी)

लेखक तथा पत्रकार हरिविनोद अधिकारीले हालै उपन्याससंग्रह बजारमा ल्याएका छन्, ‘कुन्ती’ । यो कृतिलाई ‘आत्मालाप उपन्यास’ भनेका छन् लेखकले । उपन्यासमा पौराणिक पात्र कुन्तीको कथाव्यथा प्रस्तुत गरिएको छ ।

पत्रकार तारानाथ दाहालले महाभारतको पूरक साहित्य शीर्षकको भूमिकामा लेखेका छन्, “...कुन्तीमा दर्शन, ज्ञान, प्रज्ञा, आध्यात्म, राजनीति, कूटनीति, नारीवेदना, कर्तव्य र मोक्ष आदि अनेक पक्षका जानकारी, अनुभूति, भोगाइका पीडा र ज्ञान छन् । विवशता अनि बाध्यताका कहालीलाग्दा गाँठाहरू छन् ।...।”

उपन्यासकार अधिकारीले लेखकीयमा लेखेका छन्, “कुन्तीका विषयमा कतिपय कुराहरू छन्, ती सबै यसै पुस्तकमा सकेसम्म समेटिएका छन् ।...।”

अक्षरांक प्रकाशन प्रालिद्वारा प्रकाशित २०४ पृष्ठको यो उपन्यासको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।
०००

युङफ्राउ
(नियात्रासंग्रह : कृष्ण बजगाईं)

बेलायत बस्दै आएका साहित्यकार कृष्ण बजगाईंको रुचि विशेषतः यात्रामा छ । उनले नियात्राकृतिसँगै विभिन्न विधाका गरेर करिब १८ पुस्तक लेखिसकेका छन् । केही समयअघि सार्वजनिक बजगाईंको नियात्राकृति हो, ‘युङफ्राउ’ ।

आत्मकथनमा बजगाईंले लेखेका छन्, “फेरि यात्रा सुरु गरेँ संसारका प्रथम यात्रा लेखक पौजानियसको देश ग्रीसबाट । सेप्टेम्बर, सन् २०२१ मा ग्रीसबाट सुरुआत भएको मेरो यात्रा अगस्ट, सन् २०२३ मा स्वीट्जरल्यान्डमा टुंगिएको थियो ।...।”

‘युङफ्राउ’मा २७ नियात्रा समेटिएको छ, जसले युरोपका विभिन्न स्थानको भ्रमण गराउँछ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २४४ पृष्ठको यो नियात्राकृतिको मूल्य ४९०/– रुपैयाँ राखिएको छ ।
०००

राष्ट्रनिर्माणमा दलित
(जीवनीसंग्रह : त्रिभुवनचन्द्र वाग्ले/किरणचन्द्र वाग्ले)

लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित जीवनीसंग्रह ‘राष्ट्रनिर्माणमा दलित’ बजारमा ल्याइएको छ । यो पुस्तकमा दुई खण्डमा गरी विभिन्न आलेख समावेश छ ।

कृतिभित्र छविलाल विश्वकर्माले शुभकामनामा लेखेका छन्, “कानुन बनाएरै जातीय विभेद आरम्भ गरिएको नेपालमा पछिल्ला पुस्ताले गरेका सशक्त प्रतिकारका कारण कानुन बनाएरै नेपालले त्यस्तो विभेदको अन्त्य गरेको छ तर पूर्वस्थापित मनोविज्ञान वर्तमान व्यवहारमा पनि यदाकदा अनुभव गरिएकै छ । विभेदका पूर्वस्थापित शृङ्खला भत्काएर मानव मर्यादापूर्ण सहअस्तित्वयुक्त समाज निर्माणमा लेखक वाग्लेद्वयको प्रयास सफल हुनेछ ।”

कृतिमा प्रा. डा. विद्यानाथ कोइरालाले लेखेका छन्, “राष्ट्रनिर्माणमा दलितले गरेको योगदान समेटेर लेखिएको यो पुस्तक संग्रहणीय छ । पठनीय छ ।...।”

लेखकद्वयले आफ्नो भनाइमा उल्लेख गरेका छन्, “...जीवनी लेखनलाई अनुसन्धानात्मक र प्राज्ञिकभन्दा औपचारिक पाठ्यसामग्री मात्रै बनाउने प्रयास गर्दै विभिन्न सावधानी तथा लेखकीय धर्मको पालना गरिएको छ ।...।”

पुस्तकभित्र १२१ व्यक्तित्वको जीवनवृत्त प्रस्तुत गरिएको छ ।

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित ४१० पृष्ठको यो पुस्तकको मूल्य ७९५/– रुपैयाँ राखिएको छ ।
०००

ईश्वरको अनुहार
(कथासंग्रह : दिव्य गिरी)

नेपाली कथा लेखनका क्षेत्रमा परिचित नाम हो, दिव्य गिरी । कथा, लघुकथामा कलम चलाउने गिरीको प्रकाशित पछिल्लो कथाकृति हो, ‘ईश्वरको अनुहार’ ।

लेखकीयमा गिरीले लेखेका छन्, “म कविता नै लेख्थेँ । त्यसैले कथा लेखनतिर मेरो ध्यान त्यति गएन र पनि फाट्टफुट्ट रूपमा लेखेका चौधवटा कथाहरूको संग्रह २०६१ सालमा ‘अनामिका’को नाममा प्रकाशित गरेँ विवेकशील प्रकाशनसँग मिलेर । त्यसपछि सत्र वर्षको अवधिमा पनि केही कथाहरू सिर्जना गरेपछि फेरि कथासंग्रह निकाल्ने रहर जाग्यो र तयारीमा लागेँ ।...।”

कृतिको भूमिकामा डा. गोविन्दराज भट्टराईले लेखेका छन्, “अधिकांश यी कथाको केन्द्रीय ढुकढुकीचाहिँ नेपालमा माओवादीले आरम्भ गरेको विद्रोह र तत्जन्य द्वन्द्वले उत्पन्न गरेका सर्वानाशक खेलहरू हु्न् ।...।”

कृतिभित्र गिरीका १९ कथा समावेश गरिएको छ ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २२४ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००

पाकाको रमाइलो र पिरलो
(ज्येष्ठ नागरिक सामग्री : प्रा. डा. मुकेशकुमार चालिसे)

जीवविज्ञान विषयका विज्ञ प्रा. डा. मुकेशकुमार चालिसेको हालै सार्वजनिक पुस्तक हो, ‘पाकाको रमाइलो र पिरलो’ । यसमा लेखकले ‘ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री’ उपशीर्षक दिएका छन् ।

लेखकीयमा प्रा. डा. चालिसेले लेखेका छन्, “अरू किताबमा झैँ यसका लेखहरूमा उमेरिएका पाका मान्छेका विविध आँकडा, उमेर बढ्दै गएपछि भोग्नुपर्ने मानसिक र शारीरिक समस्याहरू साथै परिवार तथा सामाजिक परिवेशमा आइलाग्ने बिब्ल्याँटाहरू बारेमा प्रस्ट्याउन खोजिएका छन् ।...।”

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले भूमिकामा लेखेका छन्, “बुढ्यौली विज्ञान विषयलाई नेपाली शिक्षा प्रणालीको अभिन्न अंग बनाउँदै लैजाने अभियानमा श्री चालिसेका चार पुस्तकहरू पहिलो उल्लेखनीय कोसेढुंगाको रूपमा स्थापित भएका छन् ।...।”

पुस्तकमा पाकासम्बन्धी ३२ आलेख समावेश छ ।

ज्ञानगुन प्रकाशनद्वारा प्रकाशित ३०४ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००

अब तिम्रो पालो
(कवितासंग्रह : नारायण तिवारी)

नेपाली कथा विधामा परिचित नाम हो, नारायण तिवारी । तिवारीले ११औँ कृति कवितासंग्रहका रूपमा ल्याएका छन्, ‘अब तिम्रो पालो’ ।

उनले लेखकीयमा लेखेका छन्, “कविताका कुरा भन्दिनँ— कविताले नै भनून् । ...मेरा कुरा पनि कवितामा नै छन्— म फेरि किन बोलौँ ? ...यतिचाहिँ भन्छु— राजनीतिक आँखाले मेरा कविता कस्ता देखिएलान्, यसकै लागि राजनीतिक विषयका विद्वान् प्राध्यापक कृष्ण पोखरेललाई भूमिकाका लागि आग्रह गरेको हुँ ।...।”

प्रा. पोखरेलले भूमिकाका लेखेका छन्, “उनका कविता भुइँमान्छेको पक्षमा उभिएका छन् । तिनका लागि जे भन्छन् सरल, सटीक, बोधगम्य भाषामा भन्छन् ।...।”

कृतिभित्रको ‘अब तिम्रो पालो’ कविताको अन्तिम हरफमा कवि तिवारीले लेखेका छन्–
भो, सकियो—
मैले निरंकुश शासकलाई खेँदेँ, लखेटेँ
सकियो मेरो पालो
अब तिम्रो पालो
मेरो घरआँगनको सपना पूरा गर्ने
अब तिम्रो पालो ! (पृष्ठ—२६)

कृतिभित्र तिवारीका ६५ कविता पढ्न सकिन्छ ।

साझा प्रकाशनद्वारा प्रकाशित १६० पृष्ठको यो कवितासंग्रहको मूल्य ३२५/– रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्