site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्वतन्त्रताका गीतहरू

प्रदीप बगाले 


अन्यायका गगनचुम्बी पहाडहरू सम्याउनेछु म
अनि जरैदेखि ढाल्नेछु असमानताका पर्खालहरू
स्वार्थको दलदलभन्दा माथि उठी
पहराजस्तो यो छाती तेर्स्याएरै छेक्नेछु म
अन्याय, अत्याचार अनि उत्पीडनका ज्वारभाटाहरू
तोड्नेछु सामाजिक विभेदका सारा जन्जिरहरू
अनि थाल्नेछु समतामूलक समाज निर्माणको महान् अभियान ।

नियतवश नै यहाँ मानिसहरूका आवाज बन्द गरिएका छन्
स्वन्त्रता कैद गरिएका छन्
कलमहरू भाँचिएका छन्
असमानताका पर्खालहरू अग्ल्याइएका छन्
सामाजिक विभेदका शृंखला रचिएका छन्
जनताका सेवक हुँ भन्नेहरू
क्रमशः शासकमा परिणत भएका छन्
जो बन्दुकको आवाजबाहेक अरू नसुन्ने भएका छन् ।

सर्वहारा वर्गको लागि आफ्नो बन्न नसकेको संविधान के काम ?
म बन्दुकले लेख्नेछु
भुइँमान्छेका हकहित, अधिकार भरिएको एकथान संविधान
अनि गर्नेछु नयाँ उद्घोष–
हो, म बन्दुकले नै लेख्नेछु स्वतन्त्रताका गीतहरू ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्