site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिमा कम्पनीका सञ्चालकसँग रहेको सेयरको ‘लकइन अवधि’ हटाउन माग

काठमाडौं । नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालकहरूको स्वामित्वमा भएको सेयरको एक वर्षे अवधि हटाउन माग गरेको छ । अहिलेको एक वर्षसम्म बेच्न नपाउने व्यवस्थालाई लिएर संघले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको बुझाइ छ ।

निर्जीवन बिमा व्यवसायी संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौँ । कम्पनीमा कायम रहेका सबै सेयरधनीजस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरूको साधारणसभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा उनीहरूमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौँ ।"

संघका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, महासचिव महेन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्यहरू आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोलीले धितोपत्र बोर्डका कामु अध्यक्ष महेश बराललाई सो प्रावधान सच्याउन आग्रह गरेको छ ।

लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए ।

"कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ," संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्