site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगारीमा जान एक महिनामा साढे ५९ हजारभन्दा बढीले लिए श्रम स्वीकृति 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन् । का श्रम स्वीकृति लिनेमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका निम्ति ९३ देशमा जान उनीहरूले विभागबाट श्रम स्वीकृति लिएका हुन् । २०८०/८१ को पहिलो महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को साउनमा वैदेशिक रोजगारीमा जान ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । त्योभन्दा यो वर्षको साउनामा चार हजार बढीले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो महिनामा १७ हजार ५४१ जनाले युनाइटेड अरब इमिरेट्स (यूएई), ११ हजार ८०९ ले साउदी अरेबिया, ११ हजार ७८५ ले कतार, चार हजार ६९५ ले कुवेत, दुई हजार २९८ ले रोमानिया, एक हजार ५७२ ले जापान, एक हजार ३४४ ले मलेसिया, एक हजार १३८ ले क्रोएसिया, ८७८ ले माल्दिभ्स, ७९० ले बहराइन र ७०० जनाले साइप्रस जान श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्