site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समिति बैठकमा रविको सात घण्टा : जीबीले 'एड्भान्स' दिएपछि सेयर किनेको थिएँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्टिकरण दिएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको ४५औँ बैठकमा शुक्रबार लामिछानेलाई सोधपुछका लागि बोलाइएको थियो । उनी दिउँसो ४ बजे समिति बैठक पुगेका थिए । उनलाई समितिले राति ११ बजेसम्म बयान लिएको हो ।

समिति स्रोतका अनुसार लामिछाने आफूमाथि लागेको आरोपबाट पन्छिएका छन् । लामिछानेले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई नै सबै कुरा थाहा भएको भनि आफूमाथि लागेको आरोप अस्वीकार गरेको एक सांसदले जानकारी दिए ।

“आफूमाथि लागेका आरोपबारे मलाई केही थाहा छैन भनेर इन्कार गर्नुभयो । अरुको जस्तो थियो उहाँको पनि त्यही कुरा आएको छ । सोधपुछका क्रममा जीबी राईलाई नै थाहा छ भनेर उहाँले आफूमाथि लागेको आरोप इन्कार गर्नुभएको छ,” ती सांसदले भने ।

उनले गोर्खा मिडियाको सेयर पनि जीबी राईले 'एड्भान्स' दिएपछि किनेको बताएका छन् । “म त गोर्खा मिडियाको जागिरे हुँ । सेयर पनि एड्भान्समा जीबी राईले नै उपलब्ध गराएर किनेको हुँ,” रविले बयानमा भनेका छन्, “नाम मात्रै मेरो हो । मैले पाँच लाख तलब खान्थेँ ।”

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम, लामिछानेको नाममा खडा गरिएको ऋण र आफ्नो नाममा प्रवाह भएको भनिएका रकमबारे हस्ताक्षर, कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको जिकिर लामिछानेले गरेका छन् ।

समिति सभापति सूर्य थापाका अनुसार समितिले उनलाई ५० वटा प्रश्न सोधेको हो । लामिछानेले गोर्खा मिडियामा रकम कहाँबाट आयो भन्ने जीबी राईलाई थाहा हुने बताएका छन् । “आफू संस्थाको प्रबन्धक निर्देशकका रूपमा प्रशासकीय आन्तरिक काममा संलग्न रहेको तर, अध्यक्षका रूपमा आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट रकम प्राप्त भयो भन्ने जीबीलाई थाहा हुने विषय राख्नुभएको छ,” थापाले भने ।

उनले समितिमा जीबी राईको चिनजान र संलग्नताबारेमा बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २३:५८
प्रतिक्रिया दिनुहोस्