site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बस्ने माओवादीको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो । परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले वाग्मतीमा भदौ ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८, गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए । त्यस्तै, भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगायतको बैठक हुने माओवादी केन्द्रले जनाएको छ । 

सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रीत कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए । बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १२२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए । 

उनले नेकपा (एकीकृत समाजवादी) लगायतसँग एकताका लागि निरन्तर छलफल भइरहेको बताए । बैठकमा नेताहरूको कार्यविभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्