site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
म आएपछि तीनपटक विद्युत् महसुल घटेको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हालसम्म २५ प्रतिशत महसुल घटाएको जनाएको छ । आठ वर्षको अवधिमा तीनपटक गरी करिब २५ प्रतिशत घटाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तीनपटक महसुलदर घटाए पनि प्राधिकरणको नाफा बढ्दै गएको उनले बताए ।

“प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमात्र कायम गरी ऊर्जा निःशुल्क छ,” उनले भने, “सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुलदर कायम गरिएको छ । यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पनि उत्तिकै जिम्मेवारीका साथ पूरा गरिरहेको छ ।”

महसुल घटाए पनि सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको घिसिङले बताए । आर्थिक वर्ष २०७२/७३ मा एकैवर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहको प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको उनको दाबी छ ।

“आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा सुरु गरेको प्राधिकरणले त्यसयता फर्केर हेर्न परेको छैन,” उनले भने ।

आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको जनाए ।

यस्तै, आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत अहिले ९९ प्रतिशत पुगेकाे घिसिङले जानकारी दिए ।

आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्‌को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको प्राधिकरणले जनाएको छ ।

आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले जानकारी दिए ।

विगत आठ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको घिसिङले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्