site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा के गर्दै छिन् हसिना ?
फाइल तस्बिर ।

नयाँ दिल्ली । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद सोमबार भारत आइपुगेपछि के गर्दै छिन् भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । उनी सोमबार साँझ भारत आइपुगेकी थिइन् ।

सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक बसेको थियो । उक्त बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र गुप्तचर निकायका वरिष्ठ अधिकारीहरू संलग्न थिए ।

हसिना भारतबाट बेलायत जान सक्ने उक्त अखबारले जनाए पनि कहिले भन्ने खुलाइएको छैन ।

विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री मोदीलाई बंगलादेशको अवस्थाका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । उनले विपक्षी दलका नेता राहुल गान्धीलाई समेत छिमेकमा भइरहेको गतिविधिबारे जानकारी गराएका थिए ।

हसिनासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले सोमबार साँझ भेटेका थिए । उक्त भेटघाटमा वरिष्ठ सैनिक अधिकारी र गुप्तचर निकायका अधिकारी पनि सहभागी रहेका जनाइएको छ ।

सुरक्षा निकायको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएअनुसार, हसिनालाई ‘सेफ हाउस’मा लगिएको छ ।

पीटीआईका अनुसार, हसिनाले दिल्लीमा आफ्नी छोरी साइमा वाजेदलाई भेट्ने सम्भावना छ । वाजेद विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकका रूपमा नयाँ दिल्लीमा कार्यरत छिन् ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्