site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई पांग्रे ईभीले वर्चश्व बढाउँदैछ नेपालमा, यी हुन् बजारमा रहेका प्रमुख ब्रान्ड  

काठमाडौं । नेपालमा दुईपांग्रे विद्युतीय सवारी (ईभी)को बजार बढ्दै गएको छ । दुई वर्षअघिको तुलनामा गएको आर्थिक वर्षमा विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात दोब्बरले बढेको छ । विद्युतीय बाइकको तुलनामा स्कुटरको प्रयोग अझ बढी छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ८३ करोड रुपैयाँभन्दा बढीका विद्युतीय मोटरसाइकल र स्कुटर आयात गरिएको छ । एक वर्षको अवधिमा सात हजार ७४७ विद्युतीय मोटरसाइकल र स्कुटर आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

ती सवारीसाधनको आयात मूल्य ८३ करोड चार लाख ४६ हजार रुपैयाँ छ । त्यसबापत सरकारले २७ करोड ३१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ९३ करोड २६ लाख तीन हजार रुपैयाँका सात हजार १५५ विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात गरिएको थियो । त्यसबापत सरकारले २४ करोड २० लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७८/०८० मा तीन हजार २२५ विद्युतीय मोटरसाइकल र स्कुटर आयात गरिएको थियो । ३६ करोड ७८ लाख ८२ हजार रुपैयाँबराबरका यी दुईपांग्रे सवारीबाट सरकारले आठ करोड ९२ लाख ७४ हजार कर संकलन गरेको थियो ।

नेपालमा विभिन्न ब्रान्डका विद्युतीय स्कुटर उपलब्ध छन् । विद्युतीय मोटरसाइकलमा नेपालको ‘यात्री’बाहेक विदेशी ब्रान्डले खासै बजार लिएको देखिँदैन ।

कुन–कुन ब्रान्डका दुईपांग्रे ईभी छन् नेपालमा ?
बाउन्स इन्फिनिटी

नेपालमा भारतीय ब्रान्ड बाउन्स इन्फिनिटीका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । नेपालका निम्ति आधिकारिक विक्रेता स्यामुकापु ट्रेडिङले यी स्कुटर बिक्री गर्दै आएको छ । २०० किलोमिटर रेन्ज दिने ई१ ए सिरिजको ४० एएच ब्याट्री भेरियन्टको प्रतिमूल्य करिब तीन लाख २० हजार रुपैयाँ कायम छ ।

याडिया

चिनियाँ ब्रान्ड याडियाका स्कुटर पनि नेपालमा उपलब्ध छन् । विभिन्न मोडलमा उपलब्ध याडियाका विद्युतीय स्कुटरको प्रतिमूल्य दुई लाख रुपैयाँभन्दा माथि छ ।

जिहो

नेपालमा जिहो ब्रान्डका विद्युतीय स्कुटर पनि उपलब्ध छन् । जिहोका १४० किलोमिटरभन्दा बढी रेन्ज दिने स्कुटर नेपालमा छन् ।

गोगोरो

ताइवानको ब्याट्री स्वापिङ इकोसिस्टमको कम्पनी गोगोराका विद्युतीय स्कुटर समेत नेपालमा छन् । केहीअघि गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर नेपाल भित्र्याइएको थियो । गोगोरो आईएनसी र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ इकोसिस्टमसँगै क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर सार्वजनिक गरेको थियो ।

सेगवे

सेगवेका विद्युतीय स्कुटर नेपालमा आइहबले बिक्री–वितरण गर्दै आएको छ । सेगवेका एन१००, ई१००, ई११० एल र ई१२५ लगायत मोडल नेपालमा उपलब्ध छन् ।

नियू

इलेक्ट्रिक टु ह्वीलर ब्रान्ड नियूका स्कुटर पनि नेपालमा उपलब्ध छन् । नेपालका निम्ति आधिकारिक वितरक इको इन्फिनिटीले नियूका स्कुटर बिक्री गर्दै आएको छ ।

राफ्ट इलेक्ट्रिक स्कुटर

आईएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले ६ भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरमा ३२० किलोमिटरसम्म रेन्ज दिने समेत रहेको जनाएको छ ।

लेभ्लिङ स्कुटर

लेभ्लिङको नेपालका निम्ति आधिकारिक विक्रेता इन्द्रेणी अटोमोबाइलले विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न मोडलका स्कुटर बजारमा ल्याएको छ ।

हिरो

लक्ष्मी इलेक्ट्रिक मोबिलिटी प्रालिले नेपालमा हिरोका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । ८२ देखि १६५ किलोमिटरसम्मको रेन्जका विभिन्न मोडलमा कम्पनीका स्कुटर उपलब्ध छन् । रुचाइएका यीलगायत विद्युतीय स्कुटरका दर्जनभन्दा बढी ब्रान्ड नेपाली बजारमा उपलब्ध छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्