site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भिडियो देखाउँदै ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई यसरी पारे ‘एम्बुस’मा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसालाई दक्षिण अफ्रिकामा गोरा जातिका मानिसहरूविरुद्ध नरसंहार भइरहेको आरोप लगाएका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित रामापोसासहितको दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलसँग भएको भेटमा एक भिडियो देखाउँदै उनीहरूलाई आक्रमणकारीका रूपमा प्रस्तुत गर्दै ट्रम्पले गोराहरूविरुद्ध नरसंहार भइरहेको छ भन्ने झुटो दाबी प्रमाणित गर्ने कोसिस गरेका थिए । 

बुधबार देखिएको यो आक्रामक व्यवहारले फेब्रुअरीमा युक्रेनका  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण कुराकानीको झल्को दिएको थियो । 

तर, दुई देशबीचको सम्बन्ध ‘रिसेट’ गर्ने उद्देश्यले अमेरिका आएका रामापोसाले ट्रम्पको भड्काउमा नपरी शान्त रूपमा कुरा गर्न आग्रह गरेका थिए । 

ट्रम्पले धेरै अघिदेखि दक्षिण अफ्रिकामा डच उपनिवेशकहरूको वंशज अल्पसंख्यक अफ्रिकनरहरूले उत्पीडन भोगिरहेको दाबी गर्दै आएका छन् । दक्षिण अफ्रिकाले यो आरोपलाई खारेज गरेको छ । यसका विपरीत देशमा हत्याको दर उच्च भएको र यसबाट पीडितहरूको बहुमत काला जातका मानिसहरू भएको बताएको छ ।

बुधबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र रामापोसाबीचको भेटको सुरुआती क्षण मित्रतापूर्ण थियो । यसमा गल्फको हाँसोमजाक चलेको थियो । तर, जब रामापोसाले ट्रम्पलाई कुनै नरसंहार नभएको बताएपछि अचानक अवस्था तनावपूर्ण बन्यो ।

ट्रम्पले भने, “हामीसँग यसबारे हजारौँ स्टोरीहरू छन् । अनि ट्रम्पले आफ्नो स्टाफलाई आदेश दिए, “लाइट घटाउनुहोस् र यो भिडियो बजाउनुहोस् ।” 

ट्रम्पको छेउमा बसेका रामपोसाले खिस्स हाँसे र ठूलो टिभी स्क्रिनतिर हेरे । त्यतिबेला दक्षिण अफ्रिकामा जन्मिएका ट्रम्पका अर्बपति सहयोगी एलन मस्क, जेडी भान्स, रक्षा सचिव पिट हेग्सेथ र दुवै देशका कूटनीतिज्ञ तथा पत्रकारहरूले यो दृश्य हेरिरहेका थिए । 

भिडियोमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमा र विपक्षी नेता जुलियस मालेमाले रंगभेदीशासनकालीन संघर्ष गीत ‘किल द बोअर’ गाउँदै गरेको दृश्य समावेश थियो, जसमा उनीहरूका समर्थकहरू नाचिरहेका थिए ।

रामापोसाले शान्त तर दृढतापूर्वक जवाफ दिँदै भिडियोमा व्यक्त गरिएका विचारहरू सरकारी नीति नभएको बताए ।

ट्रम्पले दाबी गरेअनुसार भिडियोमा सेतो क्रस लेखिएका हजारौँ गोरा किसानहरूको समाधिहरू देखिन्छ । अनुहारमा कुनै प्रतिक्रिया नदेखाउँदै बसेका रामापोसाले उनले यसअघि कहिल्यै नदेखेको भन्दै यो स्थान कहाँ हो भन्ने कुरा पत्ता लगाउने बताए । 

अनि ट्रम्पले अखबारका केही लेखहरू निकाल्दै यी केही दिनअघिका दक्षिण अफ्रिकामा हुने हत्याका समाचारहरू भएको बताए । उनले केही शीर्षकहरू पढे र टिप्पणी गरे, ‘मृत्यु, मृत्यु, मृत्यु, भयंकर मृत्यु ।’ 

रामापोसाले दक्षिण अफ्रिकामा अपराध भएको स्वीकार गर्दै बहुसंख्यकपीडितहरू काला जातिका भएको बताए । ट्रम्पले कुरा काट्दै भने, “किसानहरू काला जातका होइनन् ।” 

उनले दक्षिण अफ्रिकामा गोरा मानिसको नरसंहार भइरहेको भन्दै ‘षड्यन्त्रको सिद्धान्त’ धेरै अघिदेखि नस्लवादी र उग्र दक्षिणपन्थीहरूको प्रिय विषय रहेको बताए । हालैका वर्षहरूमा एलन मस्क र दक्षिणपन्थी मिडिया व्यक्तित्व टकर कार्लसनले यसलाई बढाइचढाइ गरिरहेका समाचारमा उल्लेख छ । द गार्जियन न्युजबाट ।


 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्