site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय कूटनीतिक नियोगका कर्मचारीलाई पनि पाकिस्तान छाड्न आदेश

काठमाडौं । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव कम हुने संकेत देखिएको छैन । भारत र पाकिस्तानले एकअर्का देशका कूटनीतिक कर्मचारीलाई देश निकाला गरेका छन् । 

भारतले बुधबार दिल्लीस्थित एक पाकिस्तानी कूटनीतिक नियोगका कर्मचारीलाई देश छोड्ने आदेश दिएपछि पाकिस्तानले आज (बिहीबार) इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका एक कर्मचारीलाई देश छाड्न आदेश दिएको छ ।

पकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक भारतीय कूटनीतिक कर्मचारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न आदेश दिएको न्युजएक्स डटकमको समाचारमा उल्लेख छ । पाकिस्तानी विदेश मन्त्रालयले भारतीय उच्चायोगका प्रभारीलाई बोलाएर यो निर्णयको जानकारी दिएको छ । 

भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत आफ्ना अधिकारीलाई बुधबार देशनिकाला गरेपछि पाकिस्तानले जवाफमा यो कदम चालेको बताइएको छ । भारतीय प्राधिकारीले उक्त दूतावासका कर्मचारीलाई जासुसीसम्बन्धी गतिविधि गरेको आरोप लगाएका थिए । 

भारत सरकारले हिजो (मे २१मा) पाकिस्तानी उच्चायोगका अर्को अधिकारीलाई पनि ‘अवाञ्छित व्यक्ति’ घोषणा गर्दै देश छाड्न भनेको थियो । 

भारतको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दिल्लीस्थित पाकिस्तानी उच्चायोग भारतमा बसेर कुनै पनि पाकिस्तानी राजदूत वा अधिकारीले आफ्नो विशेषाधिकार र दर्जाको दुरुपयोग नगरोस् भन्ने सुनिश्चित गर्न निर्देशन दिइएको हो ।
 
यो नयाँ घटनाक्रमले दुई आणविक शक्तिसम्पन्न छिमेकी देशबीचको सम्बन्धमा अर्को तनाव थपिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्