
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सडक निर्माणका क्रममा २३ लाख २२ हजार ८३२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा सोरु गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, सडक निर्माण योजनाको श्रम कार्यदल अध्यक्ष विष्णुदत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, सडक निर्मााण अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य धर्मराज जैसी र सोरु गाउँपालिका वडा नं.१० का तत्कालीन कार्यबाहक वडाध्यक्ष वीरेन्द्रबहादुर मल्ल छन् ।
दायर गरिएको मुद्दामा उनीहरूसँग २३ लाख २२ हजार ८३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिहरूले आर्थिक वर्ष ०७७/७८ मा सहिदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा सडक निर्माणमा उनीहरूले २३ लाख २२ हजार ८३२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।