
काठमाडौं । काठमाडौंको बसुन्धरास्थित बसुन्धरा अटोइन्जिनियरिङका शिवरुद्र कर्माचार्यले शवदाह उपकरण (मेसिन) बनाएका छन् । यो मेसिनले निकै कम खर्चमा सहज र धुवाँ एवम् गन्धसमेत नआउने किसिमले शवदहन गर्नसक्ने उनको भनाइ छ ।
फलामका पाताबाट बनेको यो मेसिनमा कपाश, बत्ती वा पूरानो कपडा र तेल राखेर शवलाई आगो लगाउन सकिन्छ । थोरै मात्रामा आगो सुरु गर्ने सामग्री राखेपछि त्यसमाथि शव राखेर आगो लगाउन सकिने र ४५ मिनेटमा शव जलिसक्ने उनको भनाइ छ । त्यसका लागि मेसिनमा राँगाको मासु र हड्डीहरु राखेर परीक्षण गरिएको उनले बताए ।
आगो लगाइसकेपछि त्यसलाई हावाले निरन्तर जल्न मद्दत गर्छ । हावा दिनका लागि बाकस जस्तो यो मेसिनको अगाडितिर पङ्खा जोडिएको छ । फलामको पाताले बनेको बाकसजस्तो यसभित्रभित्रैबाट शवको तलदेखि माथिसम्म हावा जानेगरी छिद्र बनाइएको छ ।
यसरी हावाले शवलाई निरन्तर जलिरहन मद्दत गर्ने उनको भनाइ छ ।
“सुरुमा आगो लगाउन तेल र कपडा चाहिने हो, त्यसपछि शव पूरै जल्दै जान्छ र हावाले मद्दत गर्छ,” उनले भने । पङ्खालाई बिजुली, सोलार वा ब्याट्रीबाट चलाउन सकिने हुँदा यो मेसिन देशका हरेक ठाउँमा आवश्यकतानुसार प्रयोग गर्न सकिने उनको भनाइ छ ।
“यसलाई विस्तारै थप सुधार गर्दै लगेर देशभर शवदहनका लागि प्रयोग गर्न सकिन्छ । सरकारले, वडा, स्थानीयतहले यसलाई लैजान सक्छन्,” कर्माचार्यले भने । यसलाई पाँचदेखि दशलाख रुपैयाँमै बनाउन सकिने उनको भनाइ छ ।
“विदेशबाट ल्याइने मेसिनलाई करोडौं पर्छ, विद्युत् पनि धेरै खपत हुन्छ । यो बनाउन पनि र जलाउन पनि सस्तो पर्छ, पङ्खाले बढीमा बिजुलीका लागि सय रुपैयाँ खर्च होला,” उनले भने ।
पछिल्लो समय सहरीकण बढ्दै जाँदा शव जलाउने ठाउँ ‘घाट’का लागि उपयुक्त ठाउँ पाउन असहज स्थिति बनेको छ । सहरी क्षेत्र र गाउँहरुमा समेत सरकारी पहलबाट यसलाई प्रयोगमा ल्याउँदा काठ दाउराको बचत पनि हुने र सहज हुने उनको भनाइ छ ।
मंगलबार बसुन्धरा अटोइन्जिनियरिङमै यसको दोस्रो पटकको परीक्षण गरेका छन् । परीक्षणका लागि राँगोको हड्डी र मासुहरु मेसिनमा राखेर जलाइएको थियो ।
परीक्षणमा आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन र अन्य व्यक्तित्वहरु उपस्थित थिए । पुनले यो वातावरणमैत्री हुने र शवदहनका लागि सहज विकल्पन हुने टिप्पणी गरेका छन् । पुनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सफल परीक्षण भएको बताएका छन् ।
“यसले वन जंगल बचाउन र वातावरण संरक्षणमा मद्दत गर्छ,” उनले भनेका छन्, “अब अर्को परीक्षण साँच्चिकैको मान्छेको शव जलाएर गरिनेछ ।” परीक्षण सफल भएसँगै सरकारले चाहेमा आवश्यकताअनुसार यसलाई देशभर प्रयोगमा ल्याउन सकिने उनले बताएका छन् ।
दाउरा प्रयोग नगरिकन लाश जलाउने अनुसन्धानको परीक्षण गरेको भिडियो हेर्नु होस् ।?? यसमा साधारण विज्ञानको सिद्धान्तलाई व्याबहारिक विज्ञानमा ढालिएको मात्र हो। एउटा बिजुलीको मोटरले हावामा रहेको धेरै भन्दा धेरै अक्सिजन फालिएको छ र अक्सिजनले लाश जलनमा मदत गरेको छ । यसको आइडिया… pic.twitter.com/HoUHj9k9UK
— Mahabir Pun (@MahabirPun) July 23, 2024
यसको लम्बाई साढे ६ फिट छ । अहिले परीक्षणका लागि ३ हर्सपावरको पङ्खा प्रयोग गरिएको तर, सानो पङ्खाले नै पुग्ने उनको भनाइ छ ।