site stats
बाह्रखरी :: Baahrakhari
देश
ठेकेदारले समयमै सडक नबनाएपछि कटहरीवासीले अवरुद्ध पारे हुलाकी मार्ग

विराटनगर । ठेकेदारले समयमै सडक निर्माणको काम नसक्दा आजित बनेका मोरङको कटहरी गाउँपालिकाका स्थानीयले हुलाकी मार्ग अवरुद्ध गरेका छन् । बिहीबार बिहानैदेखि उनीहरूले कटहरीस्थित जामुनगाछी खण्डमा बाँस राखेर सडक अवरुद्ध गरेका छन् ।

विराटनगरको हाटखोलादेखि नयाँ बजारसम्मको खण्डमा सडक विस्तारको काम निकै सुस्त गतिमा भइरहेको स्थानीयको गुनासो छ । दुवैतर्फ नाला निर्माण भए पनि सडक सम्याउने काम नहुँदा लामो समयदेखि आवागमनमा समस्या छ ।

स्थानीय महेन्द्र सिंहका अनुसार, हिउँदमा अत्यधिक धुलो र वर्षामा हिलोका कारण आवतजावतसहित दुर्घटनाको जोखिम बढेको छ ।

“रंगेली खण्डको काम पहिले नै सम्पन्न भइसकेको छ । तर, पश्चिमतर्फको निर्माण कार्यमा कुनै गति छैन । रामचोकसम्म त पैदल हिँड्नसमेत कठिन भइरहेको छ,” उनले भने । 

हुलाकी सडकको काममा तीव्रता ल्याउन माग गर्दै यसअघि जनप्रतिनिधिसहित स्थानीय बासिन्दाले मोरङको जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्