site stats
बाह्रखरी :: Baahrakhari
देश
दश वर्षमा मनसुनजन्य साढे आठहजार घटना रेकर्ड

काठमाडौं । नेपालमा पछिल्लो १० वर्षमा मनसुनजन्य आठहजार ४४१ घटना रेकर्ड गरिएको छ । मनसुनजन्य विपद्का कारण १० वर्षमा बाढीका एकहजार ६०२ घटना रेकर्ड गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार, पहिरोका दुईहजार ८४० र भारी वर्षाका एकहजार ५९७ घटना रेकर्ड गरिएको छ । यस्तै, चट्याङका दुईहजार ४०० घटना छन् ।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस वर्ष गत वर्षको तुलनामा बढी पानी पर्ने र तातो पनि सरदरभन्दा बढी नै हुने बताए । गत वर्षभन्दा बढी प्रताडित हुन सक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको जानकारी दिए ।

भट्टले मनसुनजन्य क्षति न्यूनीकरण गर्न नीतिगत र संरचनागत सुधार जरुरी रहेको बताए । सबै काम संघबाट गर्न नसकिने भएकाले स्थानीय तहलाई पनि जिम्मेवारी दिनुपर्ने बताए ।

उनले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्