site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध

मस्को । रुसको राजधानीमा आक्रमणपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र उक्त सहरलक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले जनाएको छ ।

“हवाई रक्षा प्रणालीले १०५ युक्रेनी ड्रोन नष्ट र रोक्यो । तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मस्कोका मेयर सर्गेइ सोब्यानिनले टेलिग्राम पोस्टमा भनेका छन्, “आपत्कालीन सेवा विशेषज्ञ खसेको भग्नावशेष भएको ठाउँमा काम गरिरहेका छन् ।”

तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले लगभग दैनिक एकार्काविरुद्ध ड्रोन तैनाथ गरेका छन् । तर, मस्कोलाई विरलै लक्षित गरिएको छ ।

बिहीबार मस्कोका धेरैजसो विमानस्थलमा उडान अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ ।

विमानहरू अस्थायी रूपमा सहरको मुख्य शेरेमेत्येवोका साथै अरू विमानस्थलमा ‘ग्राउन्डेड’ गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार किभ र पश्चिमको बिनासर्त र तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन् ।

रुसले हाल क्रिमिया प्रायद्वीपसहित युक्रेनको करिब पाँच भाग नियन्त्रणमा लिएको छ । क्रिमियालाई उसले सन् २०१४ मा कब्जा गरेको थियो । यो लडाइँमा दशौँ हजार मानिसको ज्यान गएको छ । लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । र, युक्रेनको पूर्व र दक्षिणका सहर र गाउँहरू ध्वस्त भएको छ । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्