site stats
बाह्रखरी :: Baahrakhari
देश
२४ घण्टामा वर्षा : झापामा ‘धेरै भारी’, काठमाडौंमा कहाँ कति ?
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ । केही स्थानमा ‘भारी’ वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो अवधिमा झापाको शनिश्चरेमा भने ‘धेरै भारी’ वर्षा भएको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । २४ घण्टामा त्यहाँ १०१.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

“पछिल्लो २४ घण्टामा धेरै भारी वर्षा त्यही एक ठाउँमा मात्र भएको हो,” उनले बाह्रखरीसित भने ।

यो अवधिमा काठमाडौंको पानीपोखरीमा ६३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौंकै बबरमहलमा ३२.६, सुन्दरीजलमा ३०.८, कपनमा १९.२ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको ताथलीमा ३०.६ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौंका अरू स्थानमा उल्लेख्य वर्षा भएको देखिँदैन ।

उता, बाँकेको सिक्तामा ६४.६, सिन्धुपाल्चोकको मानेखर्कमा ६३, सिन्धुपाल्चोककै गोब्रेमा ५९, दिपायलमा ५६.८, उदयपुरको मुर्कुचीबजारमा ५४.८, मोरङको केराबारीमा ५०.२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

यीबाहेकका कतिपय स्थानमा पनि ‘हल्का’देखि ‘मध्यम’ वर्षा भएको विभागले जनाएको छ । देशभित्रको भौगोलिक विविधताका कारण ठाउँअनुसार थोरैधेरै वर्षा हुने गरेको मौसमविद्ले बताउँदै आएका छन् ।

fdsgmf-1721279152.jpgजल तथा मौसम विज्ञान विभागको वेबसाइटबाट बिहीबार बिहान सवा ९ बजे लिइएको स्क्रिन सट ।

कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

महाशाखाका अनुसार, कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई ‘हल्का’देखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिन्छ ।

देशमा हाल मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिण (भारत)तर्फ छ । अर्थात्, नेपालमा मनसुनको सक्रियता कम छ । न्यूनचापीय रेखा उत्तर (नेपालनजिक)तर्फ हुँदा यहाँ वर्षाको सम्भावना बढी हुने मौसमविद् अधिकारीले बताए ।

“पछिल्ला दिनमा केही स्थानमा भारी वर्षा हुनुमा मनसुनी वायुसँगै स्थानीय वायुको सकारात्मक प्रभाव पर्नु हो,” उनले भने, “तिब्बततिर माथिल्लो वायुमण्डलमा उच्च चाप छ, त्यो मनसुनकै एउटा पार्ट हो, त्यसले पनि सकारात्मक प्रभाव परेको छ ।”

बिहीबार (आज) दिउँसो पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । काठमाडौंमा समेत दिउँसो र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

“काठमाडौंमा पनि अपराह्न, राति र भोलि पनि वर्षाको सम्भावना छ । मेघगर्जनसहित वर्षा हुनसक्छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्