site stats
बाह्रखरी :: Baahrakhari
देश
पश्चिम नेपालको तापक्रममा उच्च गिरावट, कहाँ कति घट्यो ?

काठमाडौं । मनसुन सक्रिय हुन थालेसँगै देशभरको तापक्रममा गिरावट आएको छ । विशेषगरी, पश्चिम नेपालका जिल्लाहरूको तापक्रममा उच्च गिरावट देखिएको छ ।

काठमाडौंको तापक्रममा भने सामान्य परिवर्तन देखिएको छ । काठमाडौंमा बुधबार ३०.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा आज ३०.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

पश्चिम नेपालका धनगढी, नेपालगन्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट देखिएको छ ।

बुधबार धनगढीमा देशकै उच्च तापक्रम ४२.३ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ४.१ डिग्री सेल्सियसले घटेर ३८.२ डिग्री सेल्सियसमा झरेको छ ।

त्यसैगरी, नेपालगन्जको तापक्रम ४१.५ डिग्री सेल्सियसबाट ३५.९ डिग्री सेल्सियसमा झरेको छ, जहाँको तापक्रम बुधबारको तुलनामा ५.६ डिग्री सेल्सियसले घटेको छ ।

दिपायलमा बुधबार ४०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । आज २.६ डिग्री सेल्सियसले घटेर ३७.६ डिग्री सेल्सियसमा झरेको छ ।

वीरेन्द्रनगरमा ४०.१ डिग्री सेल्सियसबाट ४.२ डिग्री सेल्सियसले घटेर ३५.९ डिग्री सेल्सियसमा झरेको छ ।

घोराहीको तापक्रम पनि उल्लेखनीयरूपमा घटेको छ । जहाँ बुधबार ३८.४ डिग्री सेल्सियस मापन गरिएकोमा आज ६.२ डिग्री सेल्सियसले घटेर ३२.२ डिग्री सेल्सियसमा झरेको छ ।

आज जनकपुर, विराटनगर, धनकुटा, धरान र ताप्लेजुङसहितका स्थानहरूको तापक्रममा वृद्धि भएको छ ।

जनकपुरको तापक्रम भने १.४ डिग्री सेल्सियसले बढेर ३२.८ डिग्री सेल्सियस मापन गरिएको छ । विराटनगरमा २.६ डिग्री सेल्सियसले बढेर २९.४ डिग्री सेल्सियस पुषेको छ ।

विगतको आँकडा

महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

नेपालमा हालसम्मकै उच्च तापक्रम भने सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्