site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘डिग्री पास गरेका ७४ हजार खाडीमा भाँडा माझ्दै छन्, एक घर एक रोजगारी कार्यक्रम कसरी सार्थक हुन्छ ?’ 
फाइल तस्बिर

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले डिग्री पास गरेका युवा खाडीमा भाँडा माझिरहेको भन्दै अहिले आएको बजेटले ‘एक घर एक रोजगारी’ सिर्जना गर्न सक्छ भन्दै प्रश्न गरेका छन् । उनले हरेक वर्ष १६ देखि २० लाख युवा श्रम बजारमा आउने, तर जम्मा पाँच प्रतिशतले मात्र रोजगारी पाउने गरेको भन्दै बजेटले यसलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए । 

आइतबारको प्रतिनिधिसभाको बैठकमा आगार्मी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले पढ्न भन्दै एक लाख विद्यार्थी विदेश जाने, १२ कक्षा पुग्दा ६६.६७ प्रतिशत विद्यार्थीले पढाइ छाड्ने समस्या बढेको भन्दै यसलाई सम्बोधन गर्ने बजेटमा कार्यक्रम नभएको बताए । 

“हरेक वर्ष १६ देखि २० लाख युवा श्रम बजारमा आउँछन्, पाँच प्रतिशतले मात्र रोजगारी पाउँछन् । ७० हजार डिग्री पढेका बेरोजगार छन् । खाडीमा रहेका आठ लाखमध्ये ७४ हजार डिग्री पास गरे पनि भाँडा माझ्न बाध्य छन् । के यसले एक घर एक रोजगारी सिर्जना गर्ने गरी समस्या समाधान गर्न सक्छ ?” उनले भने । 

तथांक प्रस्तुत गर्दै उनले विगतमा आएको बजेट कार्यान्वयनको समीक्षा हुनुपर्ने पनि बताए । उनले चालु आर्थिक वर्षको बजेट हेर्दा जेठ १४ सम्म ६३.७२ प्रतिशत मात्र खर्च भएको उल्लेख गरे । 

“चालु तर्फ ६८ र पुँजीगत तर्फ ४१ प्रतिशत खर्च भएको छ । पुँजीगत खर्च ५० प्रतिशत पनि पुगेको छैन,” उनले भने, “लोकप्रिय बजेट सार्वजनिक गर्नु कतिको सान्दर्भिक छ, हेर्नुपर्छ । आन्तरिक र बाह्य ऋण थुप्रिएको छ, बेरुजु बढेको छ । बजेट आकार बढाएर मात्र हुन्छ भन्ने मलाई लाग्दैन ।”

उनले बजेटमा पहाडमा भूकम्पपीडितलाई व्यवस्थापन गरिए पनि मधेशका आगलागी पीडितलाई सम्बोधन नगरेको बताए । उनले मधेशलाई पनि बजेटमा प्राथामिकता दिनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्