site stats
बाह्रखरी :: Baahrakhari
विचार
बालबालिकालाई पनि तनाव हुन्छ र ? 

अभिभावकत्व र अभिभावकले गर्नुपर्ने व्यवहार गर्न नजानेर गल्ती गरिरहेका पो छौ कि ? हामी सबैले आफ्ना कमजोरी महसुस गर्न ढिलो पो भयो कि ? आजभोलि बालबालिकामा मानसिक समस्या उत्पन्न गराउन हामीले  जानीनजानी गल्ती गरिरहेका हूनसक्छौँ । अभिभावकलाई एउटा प्रश्न - बालबालिकालाई कुन उमेरमा मोबाइल दिनुभयो ? कक्षामा पहिलो भए के उपहार दिन्छु भन्नुभएको थियो? 

बालबालिकाले मोबाइल चलाइँरहदा हामीले हेरेका छौँ ? राति राति मोबाइलमा व्यस्त पो रहेकाछन् कि? अनुपयुक्त व्यक्तिसँग गफ गरिहेका पो छन् कि ?

बालकालिकासँग  कूराकानी गर्दा थाहा पाएका केही कुरा लेख्ने जमर्को गर्दैछु । बालबालिकालाई धेरै तनाव धेरै रिस, चिन्ता अनि मानसिक समस्या देखिँदै गरेको अवस्थामा यसलाई न्यून गर्न वा तनाव, रिस चिन्ता एक्लोपनलाई व्यवस्थापन गर्न, परिवारले उनीहरूको समस्याको समाधानमा सहयोग गर्ने हो भने उनीहरूका कुरा सुन्नुपर्छ । यसले स्वस्थ मस्तिष्कको विकास गर्न मदत मिल्छ । 

Argakhachi Cement Island Ad

आधनिक प्रविधिको जमानाअनुसार चल्नुपर्छ तर मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको दिमागमा असर परिरहेको हुनसक्छ । आजभोलि बालबालिकालाई भुलाउने उपायका रूपमा, खाना खुवाउन वा हाम्रो काम सल्टाउन, दूख नदिउन् भन्न सजिलोका लागी मोबाइल दिइरहेका हुन्छौँ । प्रारम्भिक बालविकासको रणनीतिमा उल्लेख भएअनुसार बाल्यावस्थामा मस्तिष्कको विकास ५ वर्षमा ९० प्रतिशत भइसक्छ भने ८० प्रतिशत सिकाइको विकास हुन्छ । सिक्ने उमेरमा उनीहरूलाई हामीले मोबाइलको लत पो लगाइरहेका छौँ कि ? यस समयमा झन् उनीहरूलाई खेल र अन्य क्रियाकलापबाट सर्वाङ्गीण विकास गराउन सहयोग गर्ने जिम्मेवारीमा चुकेका पो छौँ कि ? 

बालबालिकासँग कुराकानी गर्दा उनीहरूले भनेका कुरा बुँदागतरूपमा 

•    सानोदेखि आमाबाबासँग सुतिन म । त्यसैले मलाई खासै आत्मीयता महसुस हुँदैन ।

•    म भूतका कथा अनि मान्छेले आतमहत्या गरेको कुरामात्रझ सुन्छु । त्यसैले राति निकै डर लाग्छ । अनि दिउँसो हिँड्दा पनि केही पछिपछि आए झैँ लाग्छ । 

•    मलाई एक्लो महसुस हुन्छ । घरमा टीभी पनि छैन । आमाबाबा बिहानैदेखि राति ९ बजेसम्म काममा व्यस्त हुँदा दुईवटा खाट, सोफा र पर्दामात्रै मेरो साथी भएजस्तो लाग्छ । 

•    सधैँ बाबा ममीले अरूसँग तुलना गर्नुहुन्छ फलानोको छोराछोरीजस्तो भएको भए पो भन्दै । 

•    केही गरेर नखाने भयो । बाबाले पिटिराख्नु हून्छ । आमाले जतिखेर पनि पढ भनीराख्नु हून्छ । खेल्न जान दिनुहुन्न ।

•    बाबाममीले नपढे गाउँमा हलो किन्दिछु । घाँस काटेर त खान सकिएला नि ! 

•    कुनै मान्छेले अल्लि सानो हुँदा नराम्ररी छोएको कारण अहिले पनि त्यो घटना सम्झिरहन्छु । नराम्रा सपना आउँछन् । कसैले मलाई लैजाँदैछजस्तो, कसैले केही भनिरहेजस्तो लागिरहन्छ ।

•    म बाबाआमालाई केही भन्दिन । किनभने मैले जे भने पनि विश्वास गर्नुहुन्न र अरूलाई भन्नु हुन्छ । 

•    मलाई बुझ्ने कोही छैन । मलाई सुन्ने पनि कोही छैन । निन्द्रा लाग्दैन । 

•    मलाई एकजना एकदमै मनपरेको थियो तर उसले वास्ता गरेन । त्यतिबेला मलाई 'एन्जाइटी' भएको थियो । अहिले कहिलेकाहीँ सास रोकिएजस्तो हुन्छ । कसैले मार्न आएजस्तो हुन्छ अनि निद्रामै ऐँठन हुन्छ । 

•    औषधि खाइरहेको छु । ममीबाबा डाक्टर बन्नैपर्छ भन्नुहुन्छ । 

•    मलाई साथीले वास्ता गर्दैनन् । मलाई बुलिङ गर्छन् । 

•    तिमीलाई त बाटोमा फालेको रहेछ कसले माया लागेर ल्याएको पाल्नलाई ? भनेर जिस्क्याउँछन् ।

•    मेरो दाइलाई दिमागमा असर परेको छ कि क्या हो ? मलाई सधैँ पिट्नुहुन्छ अनि मैले 'बाबाममीलाई भन्दिन्छु' भन्दा 'म आत्महत्या गरेर मर्छु' भन्नुहुन्छ । 

•    मेरो बाबाममी झगडा गरिरहनुहुन्छ । अनी डिभोर्स गर्छु भन्नुहुन्छ । मलाइ डर लाग्छ बाबाममी गुमाउछु कि भन्ने । त्यसैले पढ्न मन लाग्दैन । 

बालबालिकाका यस्ता कुरा सुन्दा नचाहँदा नचाहँदै तनाव तथा अन्य मनोसामाजिक समस्याले सताएको देखिन्छ । अनि बालबालिकाको मानसिक असर बारे कसैले सोचिरहेका छौँ त ? उनीहरूको कुरा बुझ्ने कोसिस गरेका छौँ त ? सबै स्कुलमा परामर्शकर्ताको आवश्यकता महसुस हुँदा पनि त्यसको अभाव हटाउन कुनै कदम चालिएको छैन ।

धेरै रिस अनि तनावका व्यवस्थापन गर्न जानेमा बालबालिकालाई मानसिक समस्या उत्पन्न हुन रोक्न सकिन्छ । पहिले उनीहरूका कुरा सुन्ने बानी विकास गर्नुपर्छ । यस्तै, हरेक विद्यालयमा एकजना नर्ससँगै एकजना मनोपरामर्शकर्ता पनि राख्न सकेमा बालबालिकाका मनोसामाजिक समस्या समाधान गर्न सहयोग पुग्नेछ । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्