site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साताको सेयर बजार : २२ अर्बको कारोबार, बजार पुँजीकरण एक खर्ब ७८ अर्बले बढ्यो

काठमाडौं । यो साता चार दिनमात्र सेयर कारोबार भएको  छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा परेकाले चार दिनमात्र कारोबार भएको हो ।

सातागतरूपमा हेर्दा गत सातादेखि नै सेयर बजार उकालो गतिमा छ । यो साता चार दिनमा नेप्से परिसूचक ११२.७१ अंकले वृद्धि भएको छ । गत साता ५२.५२ अंकले बढेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता चार दिन नै बजार बढेको छ । गएको आइतबार ४५.६९ अंकले बजार बढेको थियो । सोमबार २७.५४ अंक, मंगलबार २३.९४ अंक र बुधबार १५.५४ अंकले बजार बढेर २,१३१.४९ विन्दुमा बन्द भएको छ ।

गत सताको पाँच कारोबार दिनमा चार कारोबार दिन बजार बढेको थियो भने बुधबार बजार घटेको थियो । गत साताको बुधबार बजार ९.५४ अंकले घटेको थियो ।  गत साताको आइतबार ८.२६ अंक, सोमबार २४.३९ अंक, मंगलबार २८.६२ अंक र बिहीबार ०.७९ अंकले बजार बढेर २,०१८.७६ विन्दुमा बन्द भएको थियो ।

त्यसपछिका दिनहरूमा बजार उकालो यात्रामा छ । गत साताको तुलनामा यो साता कारोबार रकममा पनि वृद्धि भएको छ । गत साताको तुलनामा यो साता सेयर कारोबार रकम तीन अर्ब ४० करोड ४४ लाख रुपैयाँले बढेको छ ।

यो साता चार कारोबार दिनमा २१ अर्ब ९९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साता भने पाँच कारोबार दिनमा १८ अर्ब ५९ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

गत साताको तुलनामा कुल बजार पुँजीकरण एक खर्ब ७८ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । बुधबार कुल बजार पुँजीकरण ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन बिहीबार कुल बजार पुँजीकरण ३२ खर्ब एक अर्ब १६ करोड रुपैयाँ थियो ।

पछिल्ला दिनमा दैनिक सेयर कारोबार रकम अर्बभन्दा बढीको हुँदै छ । गत साता अधिकतम चार अर्ब माथि नपुगेको कारोबार रकम यो साता भने दैनिक पाँच अर्बभन्दा बढीको भएको हो ।

यस साताको अन्तिम कारोबार दिन बुधबार पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहका कम्पनीको सेयर मूल्य यो साता बढेको छ । पछिल्लो एक सातामा बैंकिङ समूहको परिसूचक १४१.३२ अंकले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्