site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रकाश सपूत भन्छन्– मेरो सिनेमा ‘वसन्त’को कथा मेरै जीवनको भोगाइ हो 

काठमाडौं । गायक प्रकाश सपूतले आफ्नै जीवनको कथामा मिल्दोजुल्दो सिनेमा बनाउन लागेको बताएका छन् । कथित दलित भएकै कारण भोग्नु परेको समस्यामा सिनेमाको कथा केन्द्रित रहेको उनको भनाइ छ । 

“सिनेमाका लागि धेरै विषय थिए । तर हरेक साहित्यकार तथा लेखकले पहिला आफ्नै कथा भन्छ रे । मलाई पनि यो भन्दा पनि कमर्सियल विषयमा सिनेमा भनौँ न भन्ने साथीहरू थुप्रै हुनुहुन्थ्यो,” आइतबार सिनेमाको टाइटल र कास्ट एन्ड क्रू सार्वजनिक गर्दै प्रकाशले भने, “पहिला आफ्नै जीवनको कथा भनौँ, अनि बाँकी कथा भनौँला भनेर मैले भोगेकै कथा सिनेमाका लागि लेखेँ ।” 

सिनेमामा करिब आधा आफ्नै कथा रहेको उनले स्पष्ट पारे । केही कुरा सिनेम्याटिक बनाउनलाई केही थपिएको र परिमार्जन गरिएको उनको भनाइ छ । अन्यथा धेरै कुरा जातीय विभेद र त्यसको सिर्जना गर्ने अवरोधकै वरिपरि कथा घुम्ने उनले जानकारी दिए । 

जात व्यवस्थाकै कारण विभेद भोगिरहनु परेको समाजमा महिलाले गर्ने विद्रोह सिनेमाको मुख्य कथा हुने उनले बताए । 

प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’ निर्माणको घोषणा, आफैँ हिरो र निर्देशक 

सिनेमामा ‘वसन्त’को भूमिकामा प्रकाश स्वयं हुनेछन् । जसले दलित युवकको चरित्र निभाउनेछन् । उनको अपोजिटमा रहने पात्र शान्ती हुनेछिन् । जसले विद्रोह गरेर अन्तरजातीय विवाहको हिम्मत गर्नेछ । यो चरित्र स्वस्तिमा खड्काले निर्वाह गर्नेछिन् । 

चलचित्रको नाम सार्वजनिक गर्ने क्रममा देखाइएको छोटो भिडियोमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि छन् । जो उक्त सिनेमाका कलाकार हुन् । 

प्रकाश सपूतको लेखन, निर्देशन तथा अभिनय रहने सिनेमा आउँदो वर्षको चैते दसैँको छेकोमा रिलिज हुनेछ । सिनेमाको छायांकन भदौमा हुनेछ । मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माताका रूपमा रहनेछन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्