site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सूचना प्रविधि क्षेत्रमा निर्वाध लगानी गर्न मन्त्री शर्माको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएकाले लगानी भित्र्याउन लगानीकर्ताहरूलाई आह्वान गरेकी छन् ।

एसिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रवधि उद्योग सञ्चालकहरूको संस्था एसिया प्यासिफिक आईसीटी अलाइन्स (एपिक्टा)का पदाधिकारीहरूसँगको अन्तर्क्रियामा मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी हुन् ।

"आगामी वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्दै छ । यो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने गरी तयार अगाडि बढाइएको छ र सोका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारहरू समेत भइरहेका छन्," मन्त्री शर्माले भनिन्, "लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज हामीबीच उपस्थित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिहरूलाई सूचना प्रविधिको क्षेत्रमा विना हिच्किचाहट लगानी भित्र्याउन र र आफ्नो संघसंस्था मार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु ।"

Rekhaa-1713702429.jpg
 

यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न एवं विश्वासको वातावरण निर्माण गर्न तयार रहेको जानकारी गराउँदै उनले सूचना प्रविधिको विकास, विस्तार, प्रयोग र लगानीका सम्बन्धमा विभिन्न देशका प्रतिनिधहरूको अनुभव आदानप्रदानले नेपाल सरकार र निजी क्षेत्रलाई समेत सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्