site stats
बाह्रखरी :: Baahrakhari
देश
अझै कति दिन हुँदैन ठूलो वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । अझै केही दिन ठूलो वर्षा नहुने भएको छ । स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहँदा तत्काल ठूलो वर्षाको सम्भावना नरहेको हो । 

“अझै कम्तीमा तीन दिन देशभर भारी वर्षाको सम्भावना छैन,” मौसमविद् गंगा नगरकोटी बाह्रखरीसँग भन्छिन्, “अबको तीन दिन देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने देखिँदैन ।” 

Argakhachi Cement Island Ad

मौसमविद् नगरकोटीका अनुसार अबको तीन दिन केही प्रदेशमा मात्रै वर्षा हुने र त्यो क्षणिक हुने बताउँछिन् । “लगातार लामो समय पानी पर्दैन । छोटो समयमै पानी पर्ने र रोकिने हुन्छ,” उनी भन्छिन्, “झरी पर्ने प्रणाली अहिले विकास भइसकेको छैन ।” 

नयाँ प्रणाली विकास नभएसम्म अथवा अहिलेकै (स्थानीय वायु र पश्चिमी वायु) थप सक्रिय नहुँदासम्म भारी वर्षा अथवा झरी पर्ने सम्भावना नरहेको उनको भनाइ छ । अहिले हुने हल्का वर्षा पनि मुख्यत कोसी प्रदेशमा बढी छ । 

नगरकोटीका अनुसार आज कोसी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा वाग्मती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

शुक्रबार कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

शनिबार पनि मौसममा परिवर्तनको सम्भावना नरहेको विभागको भनाइ छ । शनिबार पनि कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

त्यसपछिको मौसमी प्रणाली भने अध्ययन गर्न बाँकी रहेको मौसमविद् नगरकोटी बताउँछिन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्