
पोखरा । गण्डकी प्रदेशका सांसद विकल शेरचनले सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमुनापत्र राख्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति फेसबुकमा पोस्ट गर्दै आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् ।
गत दुई वर्षको अवधिमा आफूले निर्माण गरेको बजेट तथा हाल तयार पारिँदै गरेको बजेटमा जनता (मुस्ताङबासी)को वास्तविक आवश्यकता, दुर्गम क्षेत्रको माग सम्बोधन गर्न नसकिएको भन्दै राजीनामाको नमुनापत्र राखेको बताएका छन् ।
"गत दुई वर्षको अवधिमा मैले आफ्नो सबै क्षमताका साथ मुस्ताङका जनताको पक्षमा आवाज उठाउने प्रयास गरेँ । तर दुःखका साथ भन्नुपर्दछ, हामीले निर्माण गरेका बजेटहरू, विशेष गरी हाल तयार पारिँदै गरेको बजेट समेत जनताको वास्तविक आवश्यकता, विशेष गरी दुर्गम क्षेत्रका मागहरूलाई सम्बोधन गर्न असफल भएका छन्," उनले लेखेका छन्, "मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने हो, तर हाम्रो बजेटीय कार्यशैलीले बारम्बार यस जिल्लालाई पछाडि पार्ने प्रवृत्ति देखाएको छ । पूर्वाधार, आर्थिक सशक्तिकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने मेरो आग्रहहरूलाई बेवास्ता गरिएको अनुभव हुँदै आएको छ ।"
उनले आफ्नो राजीनामा भागदौड नभई आन्तरिक विरोध रहेको बताएका छन् । "म यसरी जनताको आवश्यकता र अपेक्षाको उपेक्षा गर्ने प्रणालीमा सहभागी हुन चाहन्नँ । मेरो राजीनामा कुनै भागदौड होइन, बरु यो एक आन्तरिक विरोध हो, एक जिम्मेवार अपिल हो, जसले हाम्रो राजनीतिक तथा नीति निर्माण प्रणालीमा आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ," उनले भने ।
बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका उनी त्यहाँबाट बाहिरिएका बैठकमा सहभागी एक सांसदले बताए ।
उनले आइतबारदेखि सुरु हुने प्रदेशसभा बैठकको शून्य समयमा राजीनामाको यही नमुनापत्र पढेर बाहिरिने बताएका छन् ।
गण्डकीको बजेट अधिवेशन आइतबार (आज)देखि सुरु हुँदै छ ।