site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्कीको माछापुच्छ्रेमा पोलबाटै चोरी भयो ट्रान्सफर्मर

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित लिदिखोलामा जडान गरिएको विद्युत्‌को ट्रान्सफर्मर चोरी भएको छ । विद्युत् प्रवाह गर्नका लागि लगाइएको सिंगै ट्रान्सफर्म नै चोरी भएको वडाध्यक्ष राम गुरुङले जानकारी दिए । 

उनका अनुसार बुधबारसम्म पोलमै रहेको ट्रान्सफर्मर बिहीबार थिएन । अन्य उपकरण पनि भुइँमा छरिएका छन् ।

यस वडाले हालसम्म ल्वाङमा रहेको ट्रान्सफर्मरबाट विद्युत् उपभोग गर्दै आएको थियो । तर, वडामा रहेको ५/६ वटा पोल्टी फार्मलाई बढी विद्युत् चाहिने र टाढाबाट तार तानेर ल्याउँदा समस्या देखिएको थियो । वडाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणले गत मंसिरमा ट्रान्सफर्मर राखेको थियो ।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्