site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचन : समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्ति उमेदवार बन्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम कायम रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा बन्दसूचीबाट नाम हटेमात्रै उमेदवार बन्न पाउने उल्लेख छ ।

“प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उमेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ । 

आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रमअनुसार चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उमेदवारको सूची प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार उमेदवारको विरोधमा चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । २५ गते दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने शर्माले जानकारी दिए । 

चैत २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने छ । चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्