site stats
बाह्रखरी :: Baahrakhari
देश
नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका सर्वेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले दुई लाख ५० हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुदा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा ललितपुर मालपोत कार्यालयका नासु प्रदीप पौडेल, विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जारा रहेका छन् ।

नापी सर्वेक्षक यादवसमेतले जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले गत माघ ९ गते सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यादव, बन्जरा र अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्